Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट

९ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दियो ।

‘अनुसन्धान लगभग सकिसकेको छ । हत्या गर्ने व्यक्ति उनकै घरमा काम गर्ने युवक रहेको खुलेको छ’, एक अनुसन्धान अधिकृतले  भने ।

हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए ।

त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको बताइए पनि थप अनुसन्धान जारी रहेकाले अहिले केही बताउन नमिल्ने प्रहरी स्रोतले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि सीआईबीबाट इन्सपेक्टरसहतिको टोली समेत खटिएको थियो । जिल्ला र मधेश प्रदेशबाट समेत टोली खटिएर घटनाको अनुसन्धान गरेका थिए ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा खेती लगाउन गएका बेला आइतबार राति उनको हत्या भएको थियो । ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्