Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचौलियाको पहलमा षड्यन्त्रमूलक र अपारदर्शी ढङ्गले नयाँ गठबन्धन बन्यो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको बताएका हुन् । उनले अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताए ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका सैह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने, ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’

प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी  कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए ।

‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सैह्य भएन’प्रचण्डको भनाइ छ ।

उनले आफूले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए ।

उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने बताए ।

‘राजनीतिक रूपमा राम्रो आधार बनेको छ अव त्यसलाई सङ्गठनमा बदल्नुपर्ने अवसर प्राप्त भएको छ’, प्रचण्डले भने, ‘अव मेरो पहल पार्टीलाई एकताबद्ध र नीति कार्यक्रम जनमुखी बनाउनेमा हुनेछ ।’

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्