Logo
२३ भाद्र २०८१, आईतबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाईंहरुको सेवा चुस्त र दुरुस्त हुनुपर्‍यो : गृहमन्त्री

८ साउन, काठमाडौं । अध्यागमन विभाग पुगेर गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने बताए । ‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहींबाट थाहा हुन्छ’, उनले भने, ‘त्यही सम्झेर काम गर्नुस् ।

देशभन्दा बाहिर जाने मानिसकरुलाई पनि विदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो । गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’

पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरु पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ, यसमा गृह प्रशासन निर्ममताका साथ प्रस्तुत हुन्छ ।’

मन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए । सुशासन र सेवा प्रवाहलाई छरितो बनाउने विषयमा कानून संशोधन गर्ने कुरामा ढिलाइ नगर्ने उनले बताए ।

उनले भने, ‘कानुन निर्माणको विषय मेरो अझ बढी चासो, रुची र अनुभवको कुरा हो । यसका लागि यो उपयुक्त समय हुनसक्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको समेत गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

कोरोना भाइरसको महामारीपछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकले बताए ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधरा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औंल्याउनुभयो ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले अन्तरनिकाय समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्