Logo
२३ भाद्र २०८१, आईतबार
(July 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीले आज नयाँ मुख्यमन्त्री पाउने, कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालय भागबन्डा

काठमाडौं,८ साउन । बागमती प्रदेशले मंगलबार नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा मंगलबार आज मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुखले पनि आजै नियुक्त गर्ने तयारी छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएसँगै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

दुई दलबीच मन्त्रालय भागबण्डामामा सहमति जुटेपछि लामाले आज दाबी पेश गर्ने भएका हुन् । बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने कांग्रेसले जनाएको छ ।

शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ । कृषिबाहेक अन्य मन्त्रालय यसुअघि जम्कट्टेल सरकारमा एमालेले नै लिएको थियो ।

दुवै दलले आज मन्त्रीहरुको नाम टुंगो लगाएर भोलि बुधबार मुख्यमन्त्रीसहित १३ मन्त्रीहरुको एकै पटक सपथ गराउने गरि गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।मन्त्रीका आकांक्षी धेरै भएकाले दुवै दललाई मन्त्री चयनमा भने सकस भइरहेको छ ।

प्रकाशित मिति: Jul 23, 2024

प्रतिक्रिया दिनुहोस्