Logo
२३ भाद्र २०८१, आईतबार
(July 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन्। वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो।

वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताए।

‘अवरुद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ। खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ। खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ।’

राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा समस्या भएको उनले जानकारी दिए। करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताए। वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उनको भनाइ छ।

यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन्। सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताए।

‘हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो,’ उनले भने, ‘सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ। राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ।’

स्थानीयको सक्रियतामा मात्र सडक सञ्चालन गर्न निकै कठिन हुने उनी बताउँछन्।

प्रकाशित मिति: Jul 21, 2024

प्रतिक्रिया दिनुहोस्