Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपतिबाट बिदाइ

४ साउन, काठमाडौं । ३३औं गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिदाइ गरेका छन् । विदाइ कार्यक्रममा ओलम्पिक खेल्ने ४ खेलाडी मात्रै संलग्न थिए ।

बिदाईमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र ब्याडमिन्टनका प्रिन्स दाहाल संलग्न रहेका थिए ।

आज बिदाइमा ६ खेलका ५ प्रशिक्षक उपस्थित रहेका थिए । जसमा जुडोकी देभु थापा, पौडीकी नयना शाक्य, टेबल टेनिसका राजेन्द्र कपाली, एथ्लेटिक्सका कान्ती महतो र सुटिङका प्रदिप खाती रहेका थिए । ब्याडमिन्टनका प्रिन्स दाहाल भने प्रशिक्षक बिना ओलम्पिक खेल्नेछन् ।

विदाइमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए । उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए । उनले भने, ‘आफ्नो नाभिदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफै आउँछ । हामी सबै नेपाली तपाईँहरूका साथमा छौ ।’

राष्ट्रपति पौडेलले ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनेमा आफू आशावादी रहेको बताएका हुन् ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरे ।

यस्तै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले चौधरीले खेलाडीहरूलाई शुभकामना दिँदै नेपालको खेल जगतलाई ओलम्पिकमा चिनाउन आग्रह गर्दै सबै रेकर्ड नेपालीको नाममा बनाउन आग्रह गरे ।

उनले भने, ‘नेपालीको शीर त उँचो छदै छ । अब खेलकूदको माध्यमबाट ओमल्पिकमा सबै र्कड तोड्नुहोला। नेपालीको शान र पहिचान कायम राख्नु होला मेरो र मन्त्रालयको तर्फबाट शुभकामना छ।’ खेल र खेलाडी नै राष्ट्रको गहना भएकाले नडराइकन देश र प्रतिष्ठाको लागि खेलाडीहरूलाई खेलमा भाग लिन उनको आग्रह थियो ।

विदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहको थियो ।

 

 

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्