Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा झडप, १९ जना सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो । केही युवाहरू उश्रृङ्खल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए ।

सोही क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् ।

स्थिति नियन्त्रणमा लिन १२० प्रहरी टोली खटिएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । तत्पश्चात् स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रह्यो ।नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए ।

ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्