Logo
२३ भाद्र २०८१, आईतबार
(July 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कपमा नेपाली खेलाडीलाई भविष्य बदल्ने अवसर

साउन ४, काठमाडौं । वर्तमान नेपाली खेलकुदमा मुख्य अन्तर्राष्ट्रिय जगतमा सफलता हात पार्न थालेपछि क्रिकेटको लोकप्रियता बढ्दो छ । पुरुष क्रिकेट टिमले एकपछि अर्को महत्वपूर्ण सफलता निकाल्दै गएपनि त्यसको तुलनामा नेपाली महिला टोलीको अवस्था केही कमजोर देखिन्छ ।

महिला टोलीको अवस्था प्रदर्शन मात्रै होइन, पाउने सेवा सेविधा, एक्सपोजर र लोकप्रियता सबैमा कमजोर छ । सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेपनि नेपाली महिला खेलाडीले हालसम्म उपाधि जितेको छैन । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन झनै खस्किँदै गइरहेको छ ।

एसीसी वुमन्स टी–२० एसिया कप २०२४ छनोटमा परेको नेपाली महिला क्रिकेटर टोली प्रतियोगितामा राम्रो प्रदर्शन गरेर परिचय बदल्ने दाउमा छ । आजदेखि श्रीलंकामा खेल सुरु हुँदैछ । जसमा नेपालसहित भारत, पाकिस्तान र यूएई समूह ए मा छन् । समूह बी मा बंगलादेश, थाईल्यान्ड, श्रीलंका र मलेसिया छन् ।

तुलनात्मक रुपमा नेपाल कठिन समूहमा छ । अघिल्लो महिना आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालको पुरुष टोलीले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध गरेको प्रदर्शनले ठूला टोलीलाई हराउन सक्ने हौसला महिला क्रिकेटरमा आएको छ । त्यसैले नेपालको लक्ष्य पनि ठूला टोलीलाई अपसेट छ ।

‘विश्वकपमा पुरुष टोलीको प्रदर्शनले हामीलाई एकदमै प्रेरणा दिएको छ । दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उहाँहरुले जसरी त्यो टिम भावना, मानसिकता र मैदानमा जाँदाको सकारात्मक सोच हामीले पनि लागू गर्‍यौं भने भारत र पाकिस्तानलाई हराउन वा अपसेट गर्न सक्छौं’, नेपालकी कप्तान इन्दु बर्माले श्रीलंका जानुअघि भनेकी थिइन् ।

तर नेपाललाई एसिया कप इतिहासमै पहिलो जित निकाल्न चुनौती छ । यसअघि दुई संस्करणमा ८ खेल खेल्दा नेपाल सबैमा हारेको छ । सन् २०१२ मा पहिलो पटक एसिया कप खेल्दा नेपाल श्रीलंकासँग २० रन, बंगलादेशसँग ९ विकेट र घरेलु टोली चीनसँग ४५ रनले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट, बंगलादेशसँग ९२ रन, थाईल्यान्डसँग ८ विकेट र भारतसँग ९९ रनले हारेको थियो । ठूला टोली र एसोसिएट टोलीबीच एक्सपोजरको कमी हुँदा महिला टोलीमा स्तर भिन्नताको दूरी लामो छ ।

गत सेप्टेम्बरमा नेपाल एसीसी वुमन्स प्रिमियर कप २०२३ को सेमिफाइनलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदै एसिया कप खेल्ने अवसर गुमाएको थियो । उता एसोसिएटको एक उत्कृष्ट टोली थाइल्यान्ड मलेसियासँग सेमिफाइनलमा स्तब्ध भएको थियो ।

थाइल्यान्डलाई एसिया कपमा राख्नुपर्ने दबाबमा एसीसीले नेपाललाई पनि थपेको थियो ।

नेपालले जित निकाल्न सक्ने सम्भावना बढी भएको यूएई हो । तर, पछिल्लो समय महिला क्रिकेटमा यूएईले पनि सानदार प्रदर्शन गरिरहेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ७१ रनको लक्ष्य पछ्याएको थाइल्यान्डलाई ६६ रनमा अल आउट गर्दै फाइनल खेलेको थियो । ओपनर ईशा ओझा, कभिशा इगोडागे र थीर्थ सतिशजस्ता ब्याटरको कारण मजबुत बनेको थियो । बलिङ, ब्याटिङ र फिल्डिङ फरक शैलीमा प्रस्तुत भएको छ । अर्कोतर्फ यूएई र नेपाली महिला क्रिकेटरको एक्सपोजरमा धेरै भिन्नता छ ।

२०१९ यता नतिजा आएका तीनमध्ये नेपाल २ खेलमा विजयी भएको छ । दुबै खेल नेपालले २०१९ मा जितेको थियो । २०२१ मा नेपाल ४८ रनले पराजित भएको थियो । पछिल्लो तीन वर्षमा यूएईको स्तरमा धेरै परिवर्तन आएको छ । भारत र पाकिस्तान त उपाधिको दाबेदार नै हुन् । भारत र पाकिस्तानलाई हराउन नेपालका लागि कम्तीमा ‘मिराकल’ हुनुपर्छ ।

भविष्य बदल्न सामान्य प्रयासले मात्रै हुँदैन, त्यसका एउटामात्रै नभइ प्लेइङ ११ मा भएका सबै खेलाडीले आफ्नो भूमिकामा अद्भूत प्रदर्शन गर्नुपर्छ । टोली कप्तान इन्दु बर्मा, सीता रानामगर र रुबिना क्षेत्रीमा बढी निर्भर छ । यी ३ खेलाडीबेगर पनि पनि नेपाली युवा खेलाडीमा अथाह क्षमता छ । तर, एक्स्पोजरको कमीले उनीहरुको प्रदर्शनमा पनि असर पारिरहेको छ ।

प्रतियोगिता सुरु हुन भन्दा नेपाल दुई हप्ताअघि श्रीलंका पुगेको थियो । श्रीलंका डेभलप्मेन्टसँग नेपालले ३ अभ्यास खेल खेलेको थियो । अन्तिम खेलमा २ रनको जितले नेपाली खेलाडीको मनोबलमा फाइदा पुग्नेछ । कमजोर प्रदर्शन गर्दा झनै बढी निराशा बढ्ने डर पनि खेलाडीलाई छ ।

एसिया कप अवसरबारे नेपालकी प्रमुख अलराउन्डर रुबिना भन्छिन्, ‘यो भनेको अवसर पनि हुनसक्छ र निराशा पनि । किनभने हाम्रो समूह मजबुत छ । हामीले यसलाई राम्रो गराउन सक्यौं भने महिला क्रिकेटको सिनारियो परिवर्तन गर्न सक्छौं ।’

कहाँ छ नेपाली टोलीको समस्या ?

नेपाली महिला टोलीको मुख्य समस्या फिटनेश र ब्याटिङ हो । ब्याटिङमा पनि ठूला सट खेल्न नसक्नु र अत्याधिक डट बल खेल्नु हो । ब्याटिङमा नेपाल १०० सय रन कटाउन संघर्ष गर्दै आएको छ ।

कमजोरीलाई ध्यानमा राख्दै क्याम्प सुरु हुनुअघि नै सिनियर पुरुष टोलीका फिटनेस टे«नर अब्दुलले महिला टोलीलाई तालिका पठाएका थिए । डेढ महिना घरमै फिटनेशमा काम गर्दैै खेलाडी बन्द प्रशिक्षणमा जोडिएका थिए ।

ब्याटिङ सुधारको लागि नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बन्द प्रशिक्षणको समयमा सल्लाहकारको रुपमा सहयोग गरेका थिए । ज्ञानेन्द्रको सहयोगमा खेलाडीले परिवर्तन आएको बताउँछन् । नेपालकी पूर्वकप्तान तथा सर्वाधिक अनुभवी अलराउन्डर ऋतु कनौजिया पनि शतप्रतिशत प्रयास गर्ने बताउँछिन् ।

‘पहिला नै भारत र पाकिस्तानका खेलाडी भनेर डराउनु हुँदैन । तिनीहरु पनि हामीजस्तै हुन् । उनीहरुले पहिला ब्याटिङ गर्दा जतिसक्दो कममा रोक्नुपर्छ भन्ने सोच्नुपर्‍यो । बलिङमा चौका र छक्का कमजोर बलमा जानसक्छ । तर अतिरिक्त रन जतिसक्दो कम गर्न प¥यो’, ऋतुले भनिन्, ‘आफूले शतप्रतिशत एफर्ट (प्रयास) लगाउनुप¥यो । हामीले ब्याटिङ गर्दा सबैभन्दा बढी सिंगल डबल लिनुपर्‍यो ।’

भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शनले विदेशी लिगमा नेपाली महिला खेलाडीलाई अवसर खुल्न सक्छ । वुमन्स प्रिमियर लिग र वुमन्स बिग ब्यास लिग जस्ता ठूला लिग खेल्ने सपना पूरा गर्न भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्छ । यी छिमेकी टोलीविरुद्ध खेल्ने अवसर नेपाललाई बारम्बार आउँदैन पनि ।

अर्कोतर्फ महिला टोलीमा विज्ञापन र ब्यक्तिगत प्रायोजनलाई पनि राम्रो गर्न सक्नुपर्छ । वास्तवमा नेपालले गुमाएको अवसर थियो । तर भाग्यले खेल्न पायो । अव त्यो भाग्यको साथमा सानदार प्रदर्शनमा ध्यान दिनुपर्छ । राम्रो प्रदर्शनले महिला टोलीको भविष्य फेरिन समय लाग्दैन ।

नेपाली टोली :
इन्दु बर्मा (कप्तान), सीता रानामगर, राजमति ऐरी, रुबिना क्षेत्री, डली भट्ट, ममता चौधरी, कविता जोशी, कविता कुँवर, कृतिका मरासिनी, पूजा महतो, विन्दु रावल, रोमा थापा, सबनम राई, सम्झना खड्का र काजोल श्रेष्ठ (विकेटकिपर)

एसिया कपमा नेपालको खेल तालिका
४ असार ( १९जुलाई) : यूएईसँग, दिउँसो २ः१५
६ असार (२१ जुलाई) : पाकिस्तानसँग, साँझ ७ ः १५
८ साउन (२३ जुलाई) : भारतसँग साँझ ७ ः१५

प्रकाशित मिति: Jul 19, 2024

प्रतिक्रिया दिनुहोस्