Logo
२३ भाद्र २०८१, आईतबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमलतालबाट हराएका बस खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन

१ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सशस्त्र प्रहरी बलका तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर खोजी सुरु गरेको हो । गण्डक ब्यारेज दुर्घटनास्थलबाट १३२ किलोमिटर टाढा छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा टोलीले २ वटा मोटर बोट र ७ वटा र्‍याफ्ट बोटसहित खोजी गरिरहेका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ ।

सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरुमा परिचालित भएकोे सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैंडाकोट नगरपालिका–१० को इलाकामा परिचालित भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक व्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।

वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बसमाथि पहिरो खस्दा गत शुक्रबार त्रिशुली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा र्‍याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाइस, एउटा मोटर बोट र ५ वटा र्‍याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।

हालसम्म फेला परेका १५ वटा शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति: Jul 16, 2024

प्रतिक्रिया दिनुहोस्