Logo
७ आश्विन २०८१, सोमबार
(July 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले विपद्‌मा परी मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

काठमाडौँ – सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।

सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले विपद्‌मा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ।

यसअघि सो व्यवस्था नभएकाले मन्त्रिपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

त्यसैगरी बैठकले विपद्‌मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदन पनि व्यक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी संवत् २०८२ साल असार मसान्तसम्म नेपाललाई सडक बालबालिका मुक्त गराउने, कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप फ्ल्ड लाईट जडान र प्याराफिट निर्माणको कार्य ३ सय दिनभित्र सम्पन्न गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता गुरुङले बताए।

 

प्रकाशित मिति: Jul 16, 2024

प्रतिक्रिया दिनुहोस्