Logo
७ आश्विन २०८१, सोमबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२ सदस्यीय मन्त्रिपरिषदमा १० जना नयाँ, दलित शून्य

संघीय संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भए।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन्।

लगत्तै दुई जना उपप्रधानमन्त्री- नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा (एमाले) का विष्णु पौडेलले पनि राष्ट्रपतिबाट शपथ लिए। त्यसपछि कांग्रेस, एमाले, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका तर्फबाट गरी १९ जना मन्त्रीहरूको शपथ गराइएको थियो।

ओली नेतृत्वको सकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादीका २ र लोसपाका १ जना मन्त्री छन्। शपथ लिएपछि प्रधानमन्त्रीसहित मन्त्रीहरू कार्यकक्ष पुगेर पदभार ग्रहण गरेका छन्।

मन्त्रीहरू छान्नुअघि कांग्रेस र एमालेले मापदण्ड बनाएका थिए। तर उनीहरूले मन्त्रिपरिषद समावेशी भने बनाउनबाट चुके। प्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषदमा एक जना पनि दलित समावेश गरिएको छैन।

कांग्रेसको असार २९ गते सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छान्न मापदण्ड बनाएको थियो। जसमा सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको थियो।

कांग्रेसले १० जना मन्त्री पठाएकोमा प्रकाशमान सिंह, रमेश लेखक र दीपक खड्का पुराना अनुहार हुन्। उनीहरू यसअघि पनि पटक-पटक मन्त्री भइसकेका थिए। सिंह काठमाडौं क्षेत्र नम्बर १, लेखक कञ्चनपुर ३ र खड्का संखुवासभाबाट प्रतिनिधि सभा सदस्य छन्।

कांग्रेसबाट बाजुराका बद्री पाण्डे, डडेल्धुराकी आरजु राणा देउवा, धादिङका रामनाथ अधिकारी, सप्तरीबाट तेजुलाल चौधरी, मुगुका ऐनबहादुर शाही र तनहुँका प्रदीप पौडेल पहिलो पटक मन्त्री भएका हुन्।

पाण्डे कांग्रेस सहमहामन्त्री छन् भने उनी बाजुराबाट प्रतिनिधि सभा सांसद छन्। देउवा समानुपातिक सांसद हुन्। अधिकारी धादिङ २, चौधरी सप्तरी ४, शाही मुगु र पौडेल काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य छन्।

पाण्डे पर्यटन, देउवा परराष्ट्र, अधिकारी कृषि, चौधरी युवा, शाही वन र पौडेल स्वास्थ्य मन्त्री बनेका छन्।

मन्त्रिपरिषदमा एमालेबाट ८ मध्ये ४ जना नयाँ अनुहार छन्।

सोलुखुम्बुका मानवीर राईलाई रक्षा मन्त्रीको जिम्मेवारी दिएको छ। कास्कीकी विद्या भट्टराई शिक्षा मन्त्री भएकी छन्। एमाले राष्ट्रिय सभा दलका नेता झापाका देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बने।

त्यस्तै पर्साका राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएका छन्।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्