Logo
२३ भाद्र २०८१, आईतबार
(July 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार तीन मुख्य ट्रफी जितेका मेसीले अब के गर्लान् ?

मैदानबाट बाहिरिएर बेन्च पुग्दा मेसीले आफ्नो आँखाको डिलबाट आँशु रोक्न सकेनन् । फ्लोरिडास्थित हार्ड रक स्टेडियममा उपस्थित मेसीका समर्थक पनि सँगै रोए । त्यतिबेलासम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो ।

सम्भवत: मेसी आफ्नो अन्तिम मुख्य प्रतियोगिताको फाइनल पूरै खेल्दै टिमलाई च्याम्पियन बनाउन चाहन्थे । तर घाइते भएर मैदान बाहिरिँदै गर्दा आफू आफ्नो सपना पनि टाढा हुँदै गएको महसुस भएको उनको मलिन अनुहारबाट प्रष्ट देखिन्थ्यो ।

यद्यपि, आफू मैदानबाट बाहिरिए पनि ‘टिममेट’ले मेसीको अभाव हुन दिएनन् । उनी मैदानबाट बाहिर भएपनि वैकल्पिक खेलाडीको रुपमा बेन्चबाट मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक उपाधि जित्यो ।

मार्टिनजेले अर्का वैकल्पिक खेलाडी जिओभानी लो सोल्सको पासमा ११२औं मिनेटमा गोल गरे । उको एकमात्र गोल नै अर्जेन्टिनाको कीर्तिमानी गोलका लागि निर्णायक बन्यो । समूह चरणमै चार गोल गरेका उनले फाइनलमा गोल थप्दै सर्वाधिक ५ गोल समेत गरे ।

मेसीले गोल गर्न नसकेपनि यस पटक आफ्नो टिमलाई ऊर्जा दिने काम गरे । अर्जेन्टिनाले विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४८औं संस्करणको फाइनलमा कोलम्बियालाई १-० ले पराजित गर्दै कीर्तिमानी १६औं पटक उपाधि जित्यो ।

सुपर स्टार कप्तान लिओनल मेसीले भने लगातार दोस्रो पटक कोपा तथा समग्रमा तेस्रो पटक मुख्य उपाधि जित्दै अर्को कीर्तिमान बनाए । हाम्रो पुस्ताले हेर्न पाएको सर्वोत्कृष्ट खेलाडीले ३४ वर्षको उमेर हुँदा पनि कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भनेर ठूलै आलोचना भएको थियो ।

यद्यपि मेसीले उमेर समूहमा भने दुई उपाधि जितिसकेका थिए । उनले सन् २००५ मा फिफा यू-२० विश्वकप र २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए । ओलम्पिक २३ वर्ष मुनीको टिमले खेल्ने भएकोले सिनियर टिममा थिए ।

त्यसपछि पनि मेसीले अर्जेन्टिनाबाट कोपा अमेरिका र विश्वकपको फाइनल खेल्दा उपाधि जित्न सकेका थिएनन् । तर पछिल्ला ३ वर्षमा उनले ३ मुख्य उपाधि जितिसकेका छन् । सन् २०२१ मा कोपा अमेरिका २०२२ मा फिफा विश्वकप अनी २०२४ मा अहिले आएर कोपा अमेरिकोको उपाधि जितिसकेका छन् ।

Photo : AP Photo/Rebecca Blackwell

यस पटक मेसी पूर्ण रुपमा फिट नहुँदा समेत नकआउट चरणमा सबै खेल खेल्दै टिमका लागि प्रेरणा दिएका थिए । यस संस्करणमा मेसीले सेमिफाइनलमा एक गोल मात्र गरे ।

अबको मुख्य प्रश्न यो छ कि मेसीले जित्नुपर्ने सबै कुरा जितिसकेपछि अब के गर्लान् ? उनको भविष्य के होला ? के उनले राष्ट्रिय टिमबाट सन्यास लेलान् वा अझै खेल्लान् ?

यस्तैयस्तै प्रश्नहरु आइरहेको छ । मेसीले यसबारे केही भनेका छैनन् । सन् २०२२ को फिफा विश्वकप जितेपछि उनले यो नै आफ्नो अन्तिम विश्वकप भएको र अर्को विश्वकप नखेल्ने बताएका थिए । तर अमेरिकामै व्यावसायिक फुटबल खेल्दै आएका मेसीले अमेरिकामै भएको कोपा अमेरिका जितेपछि के अझै उनले अमेरिकासहित क्यानडा र मेक्सिकोमा २०२६ मा हुने विश्वकप खेल्लान् त ?

यसको उत्तर मेसीले दिएका छैनन् । अब आउने विश्वकपमा मेसी ३९ वर्ष भइसक्नेछन् । मेसीको प्रदर्शन पनि पहिलेको जस्तै छैन । त्यसैले धेरैले उनलाई अब राष्ट्रिय टिमबाट सन्यास लिन पनि सुझाव दिइरहेका छन् ।

मेसीले आफ्नो करियरमा ७ पटक कोपा अमेरिका खेल्दा ६ संस्करणमा गोल गरेका छन् । मेसी ७ संस्करण कोपा खेल्ने पहिलो अर्जेन्टनाइन खेलाडी समेत हुन् ।  यसक्रममा उनले १४ गोल पनि गरेका छन् । यस्तै उनी ५ पटक कोपा अमेरिका फाइनल खेल्ने पनि पहिलो खेलाडी बने ।

मेसीले कोपा अमेरिकामा सर्वाधिक ३९ खेल खेल्ने कीर्तिमान पनि बनाएका छन् । उनले क्यानडा विरुद्धको पहिलो खेल खेल्दै चिलीका सर्जियो लिभिङस्टोनको नाममा रहेको ३४ खेलको कीर्तिमान तोडेका थिए ।

यस्तै ५ पटक फिफा विश्वकप खेल्दा दुई पटक आफ्नो टिमलाई फाइनल पुर्‍याए । त्यसमा आफ्नै नेतएत्वमा एक पटक टिमलाई च्याम्पियन बनाए । उनले सन् २०१४ र २०२२ को विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल अवार्ड समेत जिते ।

मेसीले अर्जेन्टिनाका लागि १८६ खेल देल्दै १०९ गोल गरेका छन् । उनले इरानको अली दाईलाई पछि पारेका छन् । मेसीभन्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मात्र अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले १३० गोल गरिसकेका छन् । वर्तमान विश्व फुटबलका यी दुई स्टार अब करियरको अन्त्यतिर आइपुगेका छन् ।

प्रकाशित मिति: Jul 15, 2024

प्रतिक्रिया दिनुहोस्