Logo
२३ भाद्र २०८१, आईतबार
(July 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार मुद्दामा सफाइ, आइतबारदेखि पुनः कार्यभार

मेयर सुरेश साह सोनार र उपमेयर रौशन खातुन ।

३० असार, जलेश्वर । आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् ।

उनीसँगै उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आइतबार नै कार्यालय गएर कार्यभार सम्हालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

असार २६ गते विशेष अदालतले १२ जनामध्ये मेयर, उपमेयर, तत्कालिन प्रमुख कार्यकारी अधिकृत र अधिकृत गरी चार जनाले सफाइ पाएका हुन् ।

विशेष अदालतले जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।

आर्थिक वर्ष २०७९/८० मा वडा नं १ को बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएपछि जलेश्वर नगरपालिकाका प्रमुख सोनार, उपप्रमुख खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन निलम्बनमा परेका थिए ।

त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इन्जिनियर पवनकुमार झा, अधिकृत छैटौं धिरेन्द्र झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दीपेशकुमार साह, त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी पनि निलम्बनमा परेका थिए ।

उनीहरुले हाट बजारमा भएको वास्तविक काम भन्दा बढी काम भएको भनी झूटा रुपमा तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी पाँच लाख ८४ हजार रुपैयाँ राज्यलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी थियो ।

अख्तियारले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि नगरपालिकाको कामकाज प्रभावित भएको थियो ।

जलेश्वर नगरपालिकाले मुद्दा नलागेका कार्यपालिका सदस्यमध्येबाट बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुखमा वडा नं ९ का वडाअध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाअध्यक्ष रतन चौधरीलाई चयन गरेर असार ७ गतेदेखि कामकाज गर्दै आएको थियो ।

प्रकाशित मिति: Jul 14, 2024

प्रतिक्रिया दिनुहोस्