त्रिशूलीमा पौडी खेलेर बाँचेकाहरू भन्छन्- मरिन्छ कि भन्ने लागेको थियो, धन्न बाँचियो!
नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको छ। तर अहिलेसम्म बस खसेको पुष्टि हुने कुनै प्रमाण फेला परेको छैन।
केही प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीले बस र त्यसमा सवार यात्रुहरू खोजिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
यादवकाअनुसार बिहान उज्यालो नहुँदै प्रहरीलाई त्रिशूली नदीमा गाडी खसेको सूचना पुगेको थियो। लगत्तै सुरक्षाकर्मीहरू खोजीमा जुटेका थिए।
‘तर घटनास्थलमा आइपुग्दा केही थिएन। तीन जना व्यक्तिहरूले आफू चढेको बस नदीमा खसेको, आफूहरू पौडी खेलेर उत्रिएको बताएका थिए। उनीहरू घाइते भएकाले उपचारका लागि पठाइयो,’ यादवले भने, ‘सुरक्षाकर्मीले नदीमा खोजिरहनुभएको छ तर केही भेटिएको छैन।’
काठमाडौंबाट रौतहटका लागि छुटेको गणपति ट्राभल्सको १० नम्बर सिटमा बसेर यात्रा गरेका नन्दन दासको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
उनकाअनुसार बिहीबार साँझ करिब ८ बजेतिर उक्त बस कलंकीबाट छुटेको थियो। बाटोमा खाना खाएपछिको करिब डेढ घण्टा बस सडकबाट नदीमा खसेको उनले बताए।
‘बस चलिरहेको थियो। म आफ्नै सुरमा थिएँ। एक्कासि बस भिरतिर खस्यो। बस पल्टिँदै नदीमा पुगेछ। मलाई पानीले झ्यालबाट फालिदियो,’ ३१ वर्षीय दासले भने, ‘ठूलो पानी परिरहेको थियो। म पौडी खेलिरहेको थिएँ तर कहाँ जाँदैछु थाहा थिएन। भगवानको नाम लिँदै पौडी खेलेको थिएँ। मरिन्छ कि भन्ने लागेको थियो। धन्न भगवानले बचाए।’
उनले नदीमा दुई जना अन्य व्यक्तिबाहेक अरू केही नदेखिएको बताए।
‘मलाई म चढेको बस खसेको थाहा छ। अर्को बस खसेको मैले थाहा पाइनँ,’ दासले भने, ‘पौडी खेल्दै जाँदा ढुंगा फेला पर्यो। माथि पहाड रहेछ। चढेपछि रोड आयो। गाडीको चालकलाई बस खसेको छ भनियो। उनले फोन गरिदिए। प्रहरीले अस्पताल ल्याइदियो। मैले जानेको यत्ति हो।’
उनी वैदेशिक रोजगारीका लागि बहराइन जान भनेर स्वास्थ्य जाँच गर्न काठमाडौं गएका थिए। फर्किंदा सबै कागजपत्र साथमा थियो। ती सबै नदीमा डुबेको उनी बताउँछन्।
‘मलेसिया ५ वर्ष बसेर ५ महिनाअघि फर्किएको थिएँ। छोरा, छोरी साना छन् उनीहरूका लागि भनेर फेरि विदेश जान खोजेको थिएँ। सबै कागजपत्र बगायो,’ उनले भने, ‘सानोमा गाउँमा भैंसी हेर्न जाँदा तलाउहरूमा पौडी खेल्न सिकेको थिएँ। त्यही सीपले आज ठूलो नदीबाट उतार्यो।’
चिकित्सकहरूका अनुसार उनको चिउँडोमा भित्री चोट देखिएकाले शल्यक्रिया गर्नुपर्छ।
सोही बसमा सवार रौतहटको गरुडा–९ नगरपालिकाका जुगेसा राय यादवको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी छोरा, छोरी र नाति, नातिनालाई लिएर काठमाडौंबाट फर्किएका थिए। १० वर्षका छोराको पेटमा समस्या, छोरीको कम्मर र ढाडको दुखाइको उपचार गर्न काठमाडौं गएका उनी अहिले एक्लै अस्पतालको शैयामा बसिरहेका छन्।
‘बेला बेलामा रोकिँदै बस चलिरहेको थियो। मलाई निद्रा लागेको थिएन। दुई, अढाइ बजेको थियो जस्तो लाग्छ। अगाडि वीरगञ्जबाट आएको रातो रंगको बस देखेको थिएँ। ठूलो पानी परिरहेको थियो। हामी चढेको गाडी ब्यालेन्स नभएको जस्तो भयो। चिप्लिए जस्तो गरेर पल्टियो,’ यादवले भने, ‘गाडी ४ पटक गुल्टिएको थाहा पाएँ। पाँचौं पटकमा पानीमा पुग्यो जस्तो लाग्छ। म बसबाट पानीमा पुगेछु।’
पौडी खेलेर नदीको छेउमा निस्किएको उनले बताए।
‘गाउँका अरू दुई जना पनि पौडी खेलिरहेका रहेछन्। उनीहरूबाहेक अरूलाई देखिनँ। गाडी पनि देखिनँ। हल्ला पनि सुनिनँ। गाडी कता पुग्यो कता, हराइहाल्यो।’
रौतहटकै सरोज गुप्ता भरतपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
बस खसेको भनिएको ठाउँभन्दा करिब १० मिटर पर एउटा झोलुंगे पुल छ। त्यो पुल तरेपछि तनहुँको आबुखैरहनी गाउँपालिकाको दोन्द्राङ बेसी पुगिन्छ।
यहाँका स्थानीय जंगबहादुर मगर घर बाहिरको खाटमा सुतिरहेका थिए। उनकाअनुसार राति ठूलो पानी परिरहेको थियो। केहीबेर सडक जाम भयो। डोजरले पहिरो पन्छाएपछि बाटो खुलेको उनले घरबाटै देखेका थिए।
‘गाडी खसेको म आफैले देखेको थिएँ। कस्तो गाडी खस्यो भन्ने थाहा छैन। कति वटा खस्यो पनि भन्न सक्दिनँ। गाडीमा बत्ती बलिरहेकोले खसेको प्रष्टै देखिन्थ्यो,’ उनले भने, ‘हाम्रोमा बिजुली थिएन। बिजुली नहुँदा मोबाइलको नेटवर्क पनि देखाउँदैन। त्यसैले खबर गर्न पनि सकिएन।’
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालकाअनुसार काठमाडौंबाट गौर जाँदै गरेको बसमा ४० जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रुहरू थिए।