Logo
२३ भाद्र २०८१, आईतबार
(July 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा वर्षाले बजार डुबानमा, लोकमार्ग अवरुद्ध

२७ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ बजार क्षेत्र प्रभावित भएको छ । भारी वर्षापछि आएको भलपानीले निकास नपाउँदा बजार क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

बजारको माथिल्लो भेगबाट आएको बल बजारमा पसेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए । राति बजार क्षेत्र जलमग्न भए पनि अहिले अवस्था केही सुधार भएको उनले बताए । ‘श्रीनगर टोलमा अलि बढी पानी पसेको भन्ने खबर आएको छ । तर एकीन क्षति विवरण आइसकेको छैन, हामी बुझ्दैछौं’, उनले भने ।

उच्च भेगमा भएको बागलुङ बजार यसअघि त्यसरी डुबानमा परेको थाहा नभएको स्थानीयले बताएको डीएसपी यादवले सुनाए । ‘यहाँका बासिन्दाले यसअघि बजारमा यति ठूलो पानी पसेको थाहा थिएन भनेका छन् । पानीले एकै पटक ठूलो मात्रामा पानी पर्दा डुबानमा परेको हुन सक्छ’, उनले भने ।

स्थानीयका अनुसार मध्यपहाडी लोकमार्गदेखि आएको भल बागलुङ बजारमा पसेको हो । भलबाढीले बजार क्षेत्रका विभिन्न बाटोमा क्षति पुर्‍याएको बताइएको छ ।

लोकमार्ग अवरुद्ध

भारी वर्षाको कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको काठेखोला गाउँपालिका–६ बयलडाँडामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोटसहित विभिन्न स्थानमा सञ्चालन हुने यातायाता ठप्प हुँदा यात्रु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

डम्पिङ साइटको पर्खाल भत्किँदा दुर्घन्ध फैलियो

यसैबीच अविरल वर्षाले बागलुङ बजारको डम्पिङसाइटको पर्खाल भत्किँदा कालीगण्डकी कोरिडोर दुर्गन्धित बनेको छ । अविरल वर्षाका कारण बागलुङ–१ स्थित काठेखोला तिरमा रहेको पहिरोको पर्खाल भत्किँदा फोहोरले कोरिडोर पुरिएको हो ।

कोरिडोर पुरिएपछि मेसिन लगाएर फोहोर हटाए पनि यात्रा असहज बनेको छ । फोहोरको डंगुरले भरिएपछि थेग्न नसक्दा पखाल भत्किएको हो । पर्खाल भत्किँदा फोहोरको थुप्रो काठेखोलामा पुगेको छ । सडकमा भएको फोहोरलाई डोजरले हटाएको थियो ।

जिल्लाको दक्षिण क्षेत्रको मुख्य नाकासँग चीन र भारत जोड्ने सडकका रुपमा रहेको कोरिडोर फोहोरको दुर्गन्धले गर्दा यात्रु नाक छोपेर हिँड्न बाध्य छन् । बागलुङ बजारको फोहोरलाई अन्तै व्यवस्थापन गर्नुपर्ने आवाज उठ्दै आए पनि सुनुवाइ भएको छैन । सडक दुर्गन्धित हुँदा यात्रु बिरामीसमेत पर्ने गाडी चालक वीरबहादुर पुनले बताए । दैनिक यो सडक भएर हजारौँ यात्रु ओहोरदोहोर गर्ने भन्दै नगरपालिकाले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको उनको भनाइ छ ।

‘पर्खाल हुँदा फोहोरको दुर्गन्ध कम आउँथ्यो, यात्रुले नाक मुख छोडेर हिँड्न सक्ने स्थिति थियो, अहिले त डम्पिङ गरेको सबै फोहोर सडकमा आएपछि यात्रा गर्ने सकिँदैन, दिनदिनै हजारौँ मान्छे हिँड्ने ठाउँमा यस्तो फोहोरको डंगुर छ’, उनले भने, ‘सरकारले यसको व्यवस्थापन सही रुपमा गर्नुपर्छ, कोरिडोर राम्रो बन्यो भने त यहाँ धेरै भारतीय र चिनियाँ पर्यटक हिँड्छन्, यसले त राम्रो सन्देश दिँदैन ।’

जैमिनी नगरपालिका–२ का प्रेमनाथ सापकोटाले कामले दैनिक बागलुङ बजार आउनुपर्ने यही सडक भएर यात्रा गर्दा बिरामी पर्ने गरेको बताए । बागलुङ नगरपालिका–१०, १२, १३, १४ वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका हजारौँ नागरिक दैनिक कोरिडोर हुँदै यात्रा गर्ने भन्दै अहिले पहिरोको नजिकै पुग्दा धेरैले वान्ता गर्ने गरेको पनि सुनाए ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले वर्षाको डम्पिङसाडको पर्खाल केही दिनमै मर्मत गर्ने बताए । पर्खालसँग कोरिडोर जोडिएको र छेउबाट काठेखोलाले बगाइरहेको हुँदा सडकको मापदण्ड छोडेर वर्षा रोकिएपछि पर्खा लगाउने काम सुरु हुने उनको भनाइ छ । यो ठाउँमा फोहोर व्यवस्थापन गर्न उचित नभएको धेरै तिरबाट सुझा आएको भन्दै व्यवस्थित स्थानमा डम्पिङसाइट निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

‘पर्खाल भत्किएपछि फोहोर सडकमा पुगेको छ, त्यसलाई हटाएर अहिले यातायात सञ्चालन गरेका छौँ, पहिरोको दीर्घकालीन व्यवस्थापनका लागि बागलुङ, बेनी र कुश्मा नगरपालिका मिलेर एउटै ल्याण्डफिलसाइट निर्माण गर्ने गरी छलफल पनि भएको छ’, उनले भने, ‘तत्कालका लागि कालठेखोला बगाउँदा सडक साँघुरो भएको छ, त्यसको मापदण्ड छोडेर पर्खाल लगाउँछौँ ।’

बागलुङमै भारी वर्षाले पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने बागलुङ नगरपालिका–७ तितौरेकी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको डीएसपी यादवले जानकारी दिए । यादवका अनुसार शर्मा घरमा एक्लै सुतिरहेकाबेला राति करिब ११ बजे पहिरोमा परेकी हुन् । ‘हामीलाई बिहानै खबर आएको थियो । टोली त्यहाँ पुगिसकेको छ’, उनले भने ।

राससको सहयोगमा

प्रकाशित मिति: Jul 11, 2024

प्रतिक्रिया दिनुहोस्