Logo
२३ भाद्र २०८१, आईतबार
(July 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२४ असार, धनगढी । वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको उनले बताए ।

आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए ।

अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी केसीले बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । प्रहरीकै संख्यामा अन्य सशस्त्र प्रहरी र नेपाली सेना समेत उद्दार तथा राहतका काममा खटिएका छन् ।

सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निर्णय भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी  भूभाग बढी प्रभावित भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले कान्द्रा र काडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको जानकारी दिए । उनका अनुसार भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी रहेको एसपी विष्टले बताए ।

कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध

कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका क्षेत्र प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए । जोशीले प्रभावित क्षेत्रका बासिन्दाको उद्धारको काम आइतबार रातिदेखि नै जारी रहेको बताए ।

अहिले उद्धारको कार्य भइरहेका कारण जिल्लाभर के–कति मानिस प्रभावित भए भनेर यकिन विवरण दिन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यसैबीच कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोका कारण डडेल्धुराको साहुखर्कमा अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ ।

यस्तै, बझाङको मालाभिर क्षेत्रमा पहिरो गएका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध छ ।

प्रकाशित मिति: Jul 8, 2024

प्रतिक्रिया दिनुहोस्