Logo
८ आश्विन २०८१, मंगलबार
(July 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने बाटो बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गरिएको छ ।  विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका साबिक पदमा नियुक्तिका लागि आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी गर्दै दलका कार्यकर्ता भर्ती गर्ने बाटो बन्द गरेको हो ।

‘त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५०’ को नियम १३३ (२) र ३९७ ले दिएको अधिकार प्रयोग गरेर त्रिवि कार्यकारी परिषद्ले विनियम जारी गरेको हो ।

विनियम अनुसार विश्वविद्यालयका डिनहरू, सहायक डिनहरू, कार्यकारी निर्देशकहरू, निर्देशकहरू, उप–निर्देशकहरू, परीक्षा नियन्त्रक, सहपरीक्षा नियन्त्रक, प्रिन्सिपल, रेक्टर, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख लगायतका पदमा नियुक्तिका लागि कुनै पनि राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

उम्मेदवारहरूले विभिन्न कागजात पेस गर्ने समयमा राजनीतिक दलको सदस्यता नभएको स्वघोषणा गरेको प्रमाण समेत पेस गर्नुपर्ने विनियममा उल्लेख छ ।

डीनदेखि त्रिविका सबै नियुक्तिहरू अबदेखि योग्यताका आधारमा हुनेछ । तोकिएको मापदण्ड पुरा गरेका आवेदकहरूलाई छनौट समितिले छनौट गरेर सिफारिस गरेको आधारमा त्रिवि कार्यकारी परिषद्, रजिस्ट्रारको सिफारिसमा उपकुलपति लगायतले नियुक्ति गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै क्याम्पस प्रमुख तथा सहायक प्रमुखको हकमा संस्थान अन्तर्गतको क्याम्पसमा डीनको सिफारिस र अन्य क्याम्पसको हकमा शिक्षाध्यक्षको सिफारिसमा कार्यकारी परिषद्ले नियुक्ति गर्नेछ ।

प्रकाशित मिति: Jul 7, 2024

प्रतिक्रिया दिनुहोस्