Logo
२३ भाद्र २०८१, आईतबार
(July 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने

२३ असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको जानकारी दिए ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा दिइनसकेको अवस्थाले विश्वासको मत लिने समय तोक्न नसकिएको मुख्य सचेतक ढकालले जनाए । बैठकमा साउनको पहिलो हप्ता विश्वासको मत लिनेबारे छलफल भएको उनले बताए ।

रहेको ढकालका अनुसार मुख्यमन्त्री जम्कट्टेल संसदीय दलको बैठक सकेर हेटौैंडा आउने तयारीमा छन् । उनी हेटौंडा आएलगत्तै नेकपा एमालेले बागमती सरकारको समर्थन फिर्ता लिने तयारी गरेको छ । शुक्रबार नै समर्थन फिर्तासहित मन्त्रीहरूको राजीनामा बुझाउने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल हेटौंडा नआएकाले रोकिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुुुदन पौडेलले जानकारी दिए ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन लिन लागेको हो । बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । संसदीय दलका नेता जगन्नाथ थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिए ।

२० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको हो । केन्द्रीय राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

प्रकाशित मिति: Jul 7, 2024

प्रतिक्रिया दिनुहोस्