Logo
८ आश्विन २०८१, मंगलबार
(July 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेसँगको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

‘एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ,’ प्रवक्ता महतले भने। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेस विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ। कार्यसम्पादनको निर्णय लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने विधानको व्यवस्था छ।

गएको मध्यरातमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको थियो। उक्त सहमतिबारे सभापति  शेरबहादुर देउवाले मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा जानकारी गराएका छन्।

प्रवक्ता महतले सत्तामा जानका लागि मात्रै समझदारी गर्दैनौं भनेर कांग्रेसले भन्दै आएको पनि बताए।

‘खाली सत्तामा जानका लागि मात्रै हामी यो समझदारी गर्दैनौं भनेर भनेका थियौं। हामीले महत्वपूर्ण मुद्दाहरूलाई केन्द्रमा राखेर एउटा समझदारी एमालेसँग हिजो गरिएको छ। अन्यौल हटाउने आधार समझदारीमा छ,’ प्रवक्ता महतले भने, ‘संविधानमा आवश्यक संशोधनका लागि पनि राष्ट्रिय सहमति निर्माण गर्ने प्रक्रिया अघि बढाउने समझदारी बनेको छ।’

आर्थिक स्थिति सुधार गर्न र विकास निर्माणमा देखिएको अन्यौल हटाउन पनि एमालेसँग समझदारी बनेको प्रवक्ता महत बताउँछन्।

प्रकाशित मिति: Jul 2, 2024

प्रतिक्रिया दिनुहोस्