Logo
२० असार २०८१, बुधबार
(July 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युक्रेनको नियन्त्रणमा रहेका सिद्धार्थको परिवारलाई पत्र : म छिट्टै फर्किनेछु

१७ असार, काठमाडौं । युक्रेनको नियन्त्रणमा रहेका मण्डन देउपुर नगरपालिका–६, काभ्रेका सिद्धार्थ ढकालको सन्देश रेडक्रसमार्फत परिवारसम्म आइपुगेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को पहलमा युक्रेनको नियन्त्रणमा रहेका ढकालको सन्देश सहितको पत्र किभस्थित रेडक्रस सोसाइटीका अधिकारीहरूले नेपाल रेडक्रस सोसाइटीलाई पठाएका हुन् ।

ढकालको पारिवारिक स्रोतबाट प्राप्त पत्रमा आफू ठिक भएको भन्दै चाँडै आउने उल्लेख गरिएको छ । ‘म पूर्ण स्वस्थ छु, कुनै चोटपटक छैन’, उनले भनेका छन्, ‘म चाँडै आउँछु, हुनसक्छ युद्ध रोकिएपछि अथवा अर्को विकल्प नेपाल सरकारको सहयोग भयो भने म अझै चाँडै आउन सक्छु ।’

तेस्रो विकल्प रुसी सरकारले पनि पहल गर्‍यो भने आफू छुट्न सक्ने उनले भनेका छन् । ‘चिन्ता गर्नुस्, सबै कुरा ठिक छ । आशा राख्नुस्, म यथाशिघ्र फर्किन सकुँ,’ पत्रमा भनिएको छ । सिद्धार्थले ९ अप्रिल २०२४ (२७ चैत २०८०) मा यो पत्रमा हस्ताक्षर गरेका छन् ।

कक्षा १२ सकेर उच्च शिक्षा अध्ययन गर्न भन्दै रुस गएका सिद्धार्थ २५ भदौ २०८० मा नेपालबाट मस्को उडेका थिए । त्यहाँ बिचौलियाले ठगेपछि उनी रुसी सेनामा भर्ना हुन बाध्य भएका थिए ।

१३ मंसिर २०८० मा उनले बुबा बिरुलाई अडियो म्यासेज पठाएर आफू युद्धको फ्रन्टलाइनमा जान लागेको र ८/१० दिन कुरा नहुन पनि सक्ने बताएका थिए ।

त्यसयता सम्पर्कविहीन भएका छोराको एकाएक बन्धक बनाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘अहिले छोरा बाँचेकै रहेछ भनेर खुशी लाग्यो । तर, कहिले आउँछ भन्ने चिन्ता उस्तै छ,’ आमा गंगा ढकालले भनिन्, ‘हरेक दिन छोरा आउला कि भनेर बाटो हेरेर बित्छ ।’

सरकारले उद्दारका लागि पर्याप्त पहल नगरेको उनको गुनासो छ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईंले आईसीआरसीमार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आएको पत्र घरमा लगेर दिएको बताए । ‘यही माध्यमबाट परिवारको सन्देश पनि उनीसमक्ष पठाउने गरी विवरण पठाएका छौं,’ उनले भने ।

नेपाल रेडक्रस सोसाइटीको विपद् तथा संकट व्यवस्थापन विभागका प्रमुख सागर श्रेष्ठका अनुसार, नेपालबाट ५ जनाले आफ्नो परिवारको सदस्य कुन अवस्थामा छन् भन्ने पत्ता लगाइदिन भनेर ‘ट्रेसिङ रिक्वेस्ट’ पठाएका थिए ।

‘त्यसरी आएका निवेदनमध्ये चार जनाको परिवारसँग सम्पर्क गराएका छौं, एक जनाको मृत्यु भएको खबर छ,’ उनले भने, ‘यसरी निवेदन दिनेहरूको नाम, ठेगाना भने मसँग छैन ।’

श्रोत ; अनलाइन खबरबाट साभार गरिएको

प्रकाशित मिति: Jul 1, 2024

प्रतिक्रिया दिनुहोस्