Logo
५ माघ २०८१, शनिबार
(June 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै

१६ असार, काठमाडौं  । आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाउन आह्वान गरेका छन् ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।

प्रकाशित मिति: Jun 30, 2024

प्रतिक्रिया दिनुहोस्