Logo
२३ भाद्र २०८१, आईतबार
(June 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम अशोभनीय र गैरजिम्मेवारी : कलाकार संघ

काठमाडाैँ । नेपाल कलाकार संघले केही दिनअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’को प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्ण रहेको बताएको छ ।

कार्यक्रम र कलाकारहरुको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएपछि संघले बुधबार विज्ञप्ती निकालेर खेद व्यक्त गरेको हो ।

संघका अध्यक्ष मोहन निरौलाले विज्ञप्तीमार्फत कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता र सामाजिक दायित्वमा आघात पुगेको बताएका छन् ।

‘हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।’,

विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।’

त्यस्तै उनले संघले यसअघि पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासनविपरीत आचारसंहिता पालन नगरी अभिव्यक्ति दिँदा सचेत गराएको बताउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन अनुरोध गरेका छन् ।

विगतमा सुरज सिंह ठकूरीले चलाएको कान्तिपुरमा प्रसारित कार्यक्रममा ओसिन सिटौलाले पहिलो एपिसोड चलाएकी थिइन् । जहाँ स्वस्तिमा र साम्राज्ञी राज्यलक्ष्मी शाह गेस्ट बनेर गएका थिए ।

उक्त कार्यक्रममा कार्यक्रम सञ्चालक (होस्ट)ले सोधेको प्रश्नको जवाफ दिन नसकेमा ‘लुगा फुकाल्नुपर्ने’ भनिएको थियो । त्यति मात्र हैन, उक्त कार्यक्रममा अनमोल केसीको गर्लफ्रेन्डका नाम खुलाउनेदेखि एक नायिकालाई त तीन जनासँग डेट गरेको आरोप लगाइएको थियो ।

यो बाहेक पनि कार्यक्रमका विभिन्न पक्षलाई लिएर सामाजिक संञ्चालमा चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति: Jun 26, 2024

प्रतिक्रिया दिनुहोस्