Logo
८ आश्विन २०८१, मंगलबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत बन्न अस्वीकार

मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत बन्न सरकारले गरेको सिफारिस अस्वीकार गरेका छन्।

प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन्। उनले पत्र पनि प्रधानमन्त्री कार्यालयमा दर्ता गराइसकेका छन्।

‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन। राजदूतजस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रूचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्वविमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु,’ उनले भनेका छन्।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सरकारले आफूप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गरेका छन्।

‘दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,’ उनले भनेका छन्।

प्याकुरेल नेकपा (एमाले) को कोटाबाट राजदूत सिफारिस भएका हुन्। गत शुक्रबार प्याकुरेलसहित आठ जना राजदूत सिफारिस भएका थिए।

प्याकुरेल विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपति भएका बेला उनको राजनीति तथा मानव अधिकार विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्