Logo
२३ भाद्र २०८१, आईतबार
(June 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरामा आयोडिनयुक्त नुनको अभाव

९ असार, बाजुरा । बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।

जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ ।

कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहोराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ ।

भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ । बाजुरामा चारवटा नुनको डिपो र चार वटा बिक्री केन्द्र छन् ।

ढुवानी अनुदानको नुन प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । सरकारले बाजुराको मार्तडी, कोल्टी, मौरे र कवाडी डिपोमा आवश्यकताभन्दा कम नुन दिने गरेको कर्मचारीहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ मा बाजुरा जिल्लाभर १६ हजार ८५२ क्विन्टल नुनको कोटा रहेको छ । यो कोटा बाजुराका लागि अपर्याप्त रहेको बोहोरोले बताए । आफूहरूले बाजुरामा नुनको कोटा अपुग भएको भन्दै सरकारलाई लिखित जानकारी दिएको पनि उनले बताए ।

डिपोमा ९ रुपैयाँ पर्ने अनुदानको नुन बजारमा ५० रुपैयाँसम्म बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ । साल्ट ट्रेडिङ बाजुराका प्रमुख बोहोरा बजारको भन्दा डिपोमा सस्तो मूल्यमा पाइने भएकाले तस्करी हुँदा समस्या भएको बताउँछन् । उनी भन्छन् ‘आपूर्ति कम छ त्यसमा १० प्रतिशत बढी नुन बजारतिर जाने गरेको छ । डिपोबाट धेरै लिएर बजारमा बिक्री हुँदा पनि यहाँ नुनको अभाव भएको हो ।’

अनुदानको नुन डिपोबाट आवश्यकताभन्दा बढी लिएर बजारमा बिक्री गरेको पाइएपछि अहिले नागरिकता हेरेर कोटामा नुन बाँड्न थालेको बोहोराले बताए ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बाजुरामा नुनको अभाव पूर्ति गर्न थप कोटाका लागि केन्द्रमा समन्वय भइरहेको बताए ।

प्रकाशित मिति: Jun 23, 2024

प्रतिक्रिया दिनुहोस्