Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ

७ असार, हेटौंडा । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौंडा–११ थाना भर्‍याङबाट भेप फेला पारेको हो ।

बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए ।

प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

उक्त भेप काठमाडौंको गोङ्गबु बसपार्कभन्दा माथि रमाइलो डाँडाबाट लोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जनाए ।

एक महिनालाई बस भाडामा लिएर नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउने भन्दै नेपालस्थित भारतीय दूतावासबाट ५ असारमा मात्रै रोड पर्मिट लिएको खुलेको एसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्