Logo
२३ भाद्र २०८१, आईतबार
(June 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।

ब्राजिलको साओ पाउलोमा  सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा यस्तो धारणा राखेका हुन् ।

‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भन्नुभयो, ‘ठुला सहर केन्द्रित बसाइसराइलाई निरुत्साहित गर्नुपर्छ । स्याटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसङ्ख्याको एकत्रित चाप रोकिन्छ । फरक प्रकृतिको भौगोलिक अवस्थितिमा सहरी नीतिमा महानगरहरूले यस विषयलाई सम्बोधन गर्नुपर्छ ।’

‘बसाइसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँ ठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ’ उनको भनाइ छ ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन् । मेट्रोपोलिस विश्वका ठुला १५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नवीन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए ।

सहरी आवास र भवनहरूको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन् । प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित रहेर नीति बहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तर्राष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तर्दृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नवीन आवास र भूमि व्यवस्थापनमा महानगरहरूका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।

बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।

प्रकाशित मिति: Jun 21, 2024

प्रतिक्रिया दिनुहोस्