Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशीका लेखा अधिकृत काम छाडेर आन्दोलनमा

६ असार, विराटनगर। कोशी प्रदेशका लेखा अधिकृत काम छाडेर आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरुले काम छाडेर आन्दोलन सुरु गरेका हुन् ।

आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृत पेन डाउन आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको छ ।

आज र भोलिका लागि पेन डाउन घोषणा गरेको प्रदेश लेखा समूह कोशी प्रदेशले ऐन संसोधन गरेर वृति विकास न्यायोचित बनाउनु पर्ने माग गरेका छन् । उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् ।

आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरुका अनुसार संघबाट समायोजन भएका छैठौं तहका अधिकृतको बढुवाको विषयमा प्रदेश ऐनले बोलको छैन ।

ऐन संसोधन गर्नका लागि पटक पटक आग्रह गर्दा माग सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको उनीहरुको दाबी छ ।

‘संघबाट समायोजन भएर आएका छठौं तहका अधिकृतको बढुवा भएन तर समायोजन ऐन अन्तर्गत नियुक्त जुनियर अधिकृत सातौं अधिकृत बन्नुभयो,’ आन्दोलनमा रहेका एक अधिकृतले भने,’ हामी १२-१३ वर्षदेखि छैठौ नै छौं, समायोजन भएका  प्रदेश ऐनले हाम्रा बारेमा बोलेन, वृति विकासमा विभेद भयो।’

समायोजन भइ आएका अधिकृत छैटौँ तहका कर्मचारीलाई ज्येष्ठता कायम रहने गरी सातौँ तहमा तह मिलान गर्नुपर्ने उनीहरुको माग छ ।

आठौं तहका अधिकृतलाई प्रशासन समूहमा राखिनुपर्ने माग छ । ‘माथिल्लो तहमा लेखा र प्रशान समान समूहका हुन्, संघमा सोही प्रावधान छ, प्रदेश  ऐनले विभेद गरेको छ, आठौ तहका एक अधिकृतले भने,’ एउटै समूहमा राखेर वृति विकासको समान अवसर हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रदेश लोकसेवा आयोगले नवौं तह वृद्धिको विज्ञापन गरको छ । वर्तमान   ऐनका कारण  प्रतिस्पर्धामा भाग लिन समस्या परेको उनीहरुको गुनासो छ । आन्दोलनरत अधिकृतहरुले  ऐन संसोधन नभएसम्मका लागि नवौ तहको विज्ञापनको मिति थप गर्नका लागि पनि माग गरेका छन् ।

‘कर्मचारीको वृति विकासमा  ऐनले विभेद गर्यो, न्यायोचित छैन,’ आन्दोलनरत अर्का लेखा अधिकृतले भने,‘ समान र न्यायोचित वृति विकासका लागि ऐन संसोधन गर्नका लागि आग्रह गरेका थियौं, सम्बोधन नभएपछि पेन डाउन आन्दोलनमा उत्रियौं।’ तत्काल माग सम्बोधन नभए आइतबारबाट सामूहिक रुपमा विदामा बस्ने उनीहरुको चेतावनी छ ।

प्रकाशित मिति: Jun 20, 2024

प्रतिक्रिया दिनुहोस्