गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणका लागि १२ कम्पनीले हाले टेण्डर
६ असार, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन् ।
टेण्डर हालेका १२ वटा कम्पनीहरू सबैको प्राविधिक मूल्याङ्कन सकिएको छ । उनीहरू सबैको अब आर्थिक प्रस्ताव खोलिने महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले अनलाइनखबरलाई जानकारी दिए । ‘प्राविधिक मूल्याङ्कनको काम सक्यौं, अब आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको छ,’ उपनिर्देशक अर्यालले भने, ‘७ दिनको समय दिएर सूचना जारी गरेर आर्थिक प्रस्ताव खोल्छौं ।’
अर्यालले चालु आर्थिक वर्षको असार महिनाभित्रै रंगशालाको बाँकी काम अगाडि बढाउने गरी ठेकेदार कम्पनीसँग सम्झौता गर्ने तयारी गरिएको बताए । ‘हामीलाई यो रंगशाला छिटो बनाउनु छ, यो महानगरको सबैभन्दा महत्वपूर्ण परियोजना हो, राष्ट्रको गौरवको परियोजना पनि हो,’ उपनिर्देशक अर्यालले भने, ‘विगतमा जे जे भए, अब काम रोकिंदैन, अगाडि बढ्छ भन्नेमा महानगरपालिका दृढ छ ।’
उनले असारभित्रै छनोट हुने निर्माण कम्पनीलाई पहिलो मोबिलाइजेसनसमेत दिएर काम अगाडि बढाउन लगाउने बताए ।
रंगशाला निर्माणका लागि डाँफे, खानीखोला, रविना कालीगण्डकी जेभी, ओम साइराम, प्रेरा, गौरीपार्वती, यामे, सगुन कन्ष्ट्रक्सन, खानी निर्माण, हनुमान, रोशन कन्ट्रक्सन, लामा डाइनामिकजेभीले टेण्डर हालेका छन् ।
यसअघि ३० दिनको म्याद राखेर गत फागुन १७ गते आब्हान गरिएको टेण्डर विवादित भए पछि महानगरपालिकाले रद्द गरेको थियो ।
महानगरले गत जेठ ३ गते दोस्रोपटक पुनः टेण्डर आह्वान गरेको थियो । पहिलोपटक टेण्डर गर्दा एमए कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको थियो ।
ठेक्काको मापदण्ड एकमात्रै कम्पनीलाई मिल्ने गरी बनाएको भनेर सार्वजनिक आलोचनासमेत भएको थियो । महानगरले १ अर्व १० करोडको ठेक्का आह्वान हो ।
महानरपालिकाका वरिष्ठ इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान गरिएको हो ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ ।
वरिष्ठ इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ ।
एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।
रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।
संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा पनि रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दैं २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेशनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।
कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ ।
प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।