Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३० वर्षअघि नेपालबाट बेल्जियम पुगेकी एस्थरले खोजेको परिवार पुनर्मिलन

काठमाडौँ । ‘आहा कस्तो सोमबार ! मैले मेरो सक्कली दाई भेटेँ । मैले अझै मेरो सानी बहिनी अस्का र बुबालाई खोजिरहेको छु । मलाई लाग्छ उनीहरु दिल्लीमा सञ्चै छन्,’ सोमबार दिउँसो बेल्जियमबाट एस्थर ढुंगानाले फेसबुकको स्टोरीमा एउटा फोटोसहित गरेको पोस्टमा लेखिएको अंग्रेजीको नेपाली अनुवाद हो यो ।

नेपालबाट सन् १९९४ मा एडप्ट गरेर बेल्जियमका एक नागरिकको परिवारमा पुगेकी एस्थरले ९ दिनअघि फेसबुकमा आफ्नो नेपालको परिवारसँग पुनर्मिलन गराईदिन अपिल गरेकी थिइन् । नेपालबाट बेल्जियमको परिवारले एडप्ट गरेर लगिएकी उनले नेपालमा आफ्नो परिवार रहेको आफूलाई थाहा भएको र उनीहरुसँग भेटिन चाहेको आफ्नो सामाजिक सञ्जालमार्फत खुलाएकी थिइन् ।

‘मेरो सक्कली नाम एस्थर ढुंगाना हो । मेरो नेपाल ठेगाना काठमाडौँ महानगरपालिका २२ खिचापोखरी हो,’ एस्थरले भनेकी थिइन् । उनले आफ्नो आमा बुबा र ३ जना दाजुभाइहरु भएको तर उहाँहरु कसैसँग पनि भेट र सम्पर्क नभएको उक्त पोस्टमा उल्लेख गरेकी थिइन् ।

एस्थरले आमाको नाम सीता ढुंगाना र बुबाको नाम उदय उपाध्याय ढुंगाना भएको खुलाएकी छिन् । ‘मलाई थाहा छैन मेरा बुबा आमा यो संसारमा हुनुहुन्छ या हुनुहुन्न तर मेरा दाजुभाईहरु पक्कै छन्’ एस्थरले लेखेकी थिइन् ।

एस्थरले केही पुरानो फोटो सार्वजनिक गर्दै आफू बुबाको काखमा रहेको र आफ्ना दुई जना दाजुहरु सँगै छेउमा बसेको पनि भेनेकी थिइन् । अर्को एक खोप लगाउँदै गरेको जस्तो देखिने फोटो पोस्ट गर्दै एस्थरले आफू आमाको काँधमा रहेको पनि भनेकी थिइन् । आफूलाई एडप्ट गरेर बेल्जियम ल्याइएको उनले आफ्नो पोस्टमै खुलाएकी छिन् ।

यस्तै अर्का एक जोडीसँग बालक रहेको फोटोमा एस्थरले सोे फोटोमा देखिएका मानिसहरु पास्टर सुन्दर थापा र उनको श्रीमती भएको बताएकी थिइन् । उक्त फोटोमा एस्थरले दाबी गरेकी थापाकी श्रीमतीको काखमा रहेको बालिका आफू हो ।

आफूलाई एडप्सन गराईदिने वकिल सुमित्रा श्रेष्ठ भएको भन्दै एस्थरले ति वकिलको नाम, फोटो र ठेगाना पनि सार्वजनिक गरिदिएकी थिइन् । जसअनुसार वकिलको ठेगाना ललितपुर जिल्लाको पेमबहालको घर नम्बर २१/१५१ रहेको उल्लेख छ । पछिल्लो एक सातामा उनले आफ्नो सामाजिक सञ्जालमा प्रमाणसहितको दुई पटक प्रमाणसहितको विवरण सार्वजनिक गर्दै सहयोगका लागि अपिल गरेकी थिइन् ।

बेल्जियम निवासी सन्तोष न्यौपानेको सम्पर्कमा आएकी उनले न्यौपानेमार्फत परिवार खोज्न अपिल थालेकी थिइन् ।  गैरआवासिय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले पनि आफ्नो फेसबुकमार्फत एस्थरको पारिवारिक पुर्नमिलनका लागि सबैमा अपिल गरेकी थिइन् ।

सबै नेपालीहरुको पहलमा खोजी सुरु भएको आठौँ दिनमा एस्थरले आफ्नो सक्कली दाजु पाएकी छिन् । आफ्नो अपिलपछि एक नेपाली संस्थाको पहलमा दादासँग अनलाइनमा भेटिन पाएको र दिनभरी लामो कुराकानी गरेको एस्थरले सिधाकुरालाई पठाएको भिडियो सन्देशमा उल्लेख छ ।

‘लामो समयपछि मैले मेरो सक्कली दाई भेटेँ अनलाइनमा हामी लामो कुराकानी गर्यौँ , दिनभरी कुराकानी मै बितायौँ,’ एस्थरले सिधाकुरालाई पठाएको भिडियो सन्देशमा उल्लेख छ ।

जब मैले मेरो फाइलमा पहुँच पाएँ  

एस्थरले सिधाकुरासँग गरेको कुराकानीअनुसार उनले अघिल्लो साता आफ्नो फाइल पाएकी थिइन् । जहाँ उनी एडप्ट भएको र उनको नेपालमा परिवार भएको उल्लेख थियो ।

त्यहाँ रहेको फोटो र डकुमेन्टका आधारमा आफूले परिवारको खोजी गरेको एस्थरले बताइन् । ‘मैले मेरो परिवारको खोजी थालेको ८ दिनमै मेरो दाइसँग भेट भयो,’ उनले थपिन्, ‘पक्कै मेरो बुबा र करिब २६ वर्षकी बहिनी पनि दिल्लीमा सञ्चै छन् ।’ एस्थरले आफ्नो परिवार भेट्ने चाहना पुरा गरिदिएकामा नेपाली समुदायलाई धन्यवाद दिएकी छिन् ।

सामाजिक सञ्जाल र समाचारहरुबाट छिट्टै बुबा र बहिनी भेटिने आशमा आफू रहेको एस्थरले भनेकी छिन् । ‘म आशावादी छु पक्कै मेरो बुबा र बहिनी पनि भेटिनु हुनेछ ।’  बेल्जियमा रहेका नेपाली समुदायकाअनुसार एस्थरसँग कुरा भएको दाजुको नाम कुल ढुंगाना हो । उनले दाजुबारे भने थप खुलाइनन् ।

 

श्रोतः–साभार सिधाकुरा

 

प्रकाशित मिति: Jun 19, 2024

प्रतिक्रिया दिनुहोस्