Logo
८ आश्विन २०८१, मंगलबार
(June 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

 

काठमाडौँ । बालबालिका विरुद्ध हुने हिंसा र श्रम शोषण विरुद्ध पछिल्लो एक महिना देखि काठमाडौं महानगरले विशेष अपरेसन चलाईरहेको छ ।
महानगरका मेयर बालेन्द्र शाह ( बालेन ) को विशेष सक्रियतामा सुरु भएको यस्तो अभियानमा ३१ जना स्वयम् सेवक परिचालित भएका छन् । शहरका सम्भावित बाल श्रमिक क्षेत्रको पहिचान गर्ने, बाल श्रमिक प्रयोगको सूक्ष्म अनुसन्धान गर्ने र रेकी गरेर महानगर प्रहरी बल मार्फत उद्धार गर्ने जिम्मेवारीसाथ स्वयंसेवक परिचालित भएका छन् ।
महानगरका स्वयंसेवक टोल टोलका क्लब, विद्यालयमा पुग्छन् र क्लास लिएर बालबालिका माथि हुने हिंसा र श्रम शोषणबारेको सूचना महानगरलाई दिन आग्रह गदै हटलाइन नम्बर टिपाउँछन् । आफू माथि भएको हिंसा बारे प्रष्ट बोल्न र मेयर शाहले जसरी पनि उद्धार गर्ने कुराको विश्वास दिलाउँछन् । यसरी परिचालन भएका  स्वयंसेवकको कामका कारण अहिले महानगरलाई हरेक दिन उद्धारका लागि हिंसामा परेका बालबालिकाको फोन आइरहेको छ । यही सिलसिलामा गत शुक्रबार काठमाडौंको बालुवाटार ठेगाना बताउने एक बालिकाको फोन हटलाइन नम्बरमा बज्यो ।
‘म बालुवाटारको एक घरमा श्रम र शारीरिक शोषण खेपेर बस्न बाध्य छु । म नाबालिग हुँ मेरो उद्धार गरिदिनुहोस्,’ हटलाइनको फोन उठाउने महानगरका एक अधिकारीले बालिकाको भनाई उदृत गर्दै भने, ‘नेताकै घरमा रहेको बताउने बालश्रमिकबाट फोन आएपछि उनीकाे फोन र लोकेसन तुरुन्तै पछ्यायौँ ।’
स्थानीय वडाका जनप्रतिनिधिसहित जब महानगरको टोली बालिकाले हटलाइनमा टिपाएको लोकेसनमा पुगे उनीहरु अचम्मित भए । ‘हामी त सामान्य घरमा होला भनेर पुगेका थियौँ तर यो घर त प्रदेश सांसदको रहेछ,’ ति अधिकारीले भने । महानगरलाई सूचना आएको घर लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको थियो ।
महानगरका अधिकारी उद्धारका लागि प्रहरीसहित घरमा पुगेपछि बालिकाले नै ढोका खोलिन । सांसद शर्मा घरमा थिइनन् ।
बालिकाको उद्धारका लागि घरमूली खोजी भयो । सुरुमा भाडामा बस्नेले महानगर र प्रहरीको टोलीलाई सघाएनन् । कसै गरी पनि सहयोग नभए बल प्रयोग गर्ने भनेपछि उनीहरुले सांसद शर्मालाई फोन लगाए । सांसद शर्माले फोनमा आफूमाथि शत्रु लागेको भन्दै भाडामा बस्नेलाई महानगरका प्रहरीलाई सघाउन भनिन् ।
त्यसपछि प्रहरीले स्थानीय वडाका प्रतिनिधि र छिमेकी तथा घरभाडामा बस्नेका सामुन्नेमा आफूमाथि पटक पटक घरमूली सांसदबाट यातना दिइएको बताइन् । ‘घरमूली सांसद शर्माले मलाई पाइपको लट्ठीले पटक पटक पिट्नु हुन्थ्यो’ बालिकाले बयानमा भनेकी छिन् । आफूलाई घर परिवारसँग बोल्न पनि नदिएको उनले खुलाएकी छिन् ।
बालबालिकाको संरक्षण गर्ने कानुन बनाउने दायित्व बोकेकी सांसदकै घरमा बसेकी बालिकाले उद्धार मागेपछि महानगरको टोली घर भित्र छिरेर उनी बस्ने ठाउँको मुचुल्का गरेर बालिकाको उद्धार गरेको थियो ।
‘सांसदकै घरमै श्रम शोषण देखि शारीरिक शोषण पनि भोगेको उनले बताएकी छिन्,’ महानगर स्रोत भन्छ, ‘अहिले हामीले हाम्रो सेफ हाउसमा राखेर मनोपरामर्श दिइरहेका छौँ ।’  बालिकालाई उद्धार गरेर लगेपछि महानगरले सांसद शर्मा विरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ । उद्धार गरिएकी बालिकाको बयानका आधारमा शर्मा विरुद्ध बालबालिका सम्बन्धी अपराध गरेको कसुरमा काठमाडौँ प्रहरी परिसरमा बुधबार जाहेरी दर्ता भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य रेखा कुमारी शर्मा
शर्माले काठमाडौँस्थित घरमा एक १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको जाहेरीमा उल्लेख छ । सांसद शर्मामाथि बालिकामाथि  कुटपिटको कसुरमा जाहेरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । सांसद शर्मा एमालेबाट निर्वाचित दाङकी प्रदेश सभा सदस्य हुन् । प्रहरीमा जाहेरी दर्ता भएसँगै उनी मोबाइल अफ गरेर फरार छिन् ।
श्रोतः–सिधाकुरा 

प्रकाशित मिति: Jun 14, 2024

प्रतिक्रिया दिनुहोस्