Logo
७ आश्विन २०८१, सोमबार
(June 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा भत्ताबारे पञ्जीकरणको अधुरो सूचनाले ज्येष्ठ नागरिकलाई सास्ती

३२ जेठ, गुल्मी । सरकारले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने नीति ल्याएको छ । पहिलो चरणमा सुगम मानिएका र तत्कालै परिचय बनाउन सकिने केही पहाडी जिल्लासहित तराईका जिल्ला सरकारले छनोट गरेको छ ।

सरकारले पहिलो चरणमा सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र लागू गर्न लागेको जिल्लामा गुल्मी पर्दैन । तर, केही दिनयता जिल्ला प्रशासन कार्यालय, गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउने भीड नै लागेको छ ।

सामान्यतया दैनिक ४० जना देखि ८० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको सीडीओ कार्यालयमा पछिल्लो केही दिनयता उक्त संख्या दोब्बरले वृद्धि भएको छ । राष्ट्रिय परिचयपत्रको लागि आवेदनका लागि वृद्धवृद्धाहरु बिहानै लाइनमा बस्ने गरेका छन् ।

राष्ट्रिय परिचयपत्र अनिवार्य हुन्छ भन्ने हल्लाले गुल्मीमा पनि वृद्धवृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउन भन्दै हतारिएर प्रशासन कार्यालयमा पुग्ने गरेका हुन् । जसले गर्दा उनीहरु घन्टौं लाइन लागेर सास्ती खेप्नु परिरहेको छ ।

लामो समयसम्म उभिइरहनु पर्ने भएपछि त्यहाँ जेष्ठ नागरिकहरु भुइँमा बसेर पालो कुर्ने गरेका छन् । सञ्चार माध्यम र केही स्थानीयले पनि वृद्धभत्ता नवीकरण गर्न ‘राष्ट्रिय परिचयपत्र चाहिन्छ’ भनेकाले आफू बिहानै जिल्ला प्रशासन आएको मनु गिरीले बताए । ‘अहिले नबनाए छुटिन्छ कि भनेर डरले आएको हुँ’, उनले भने ।

प्रशासनका पछिल्लो एक सातायता टाढा टाढाबाट आएका सयौं वृद्धवृद्धा यसरी नै राष्ट्रिय परिचय पत्रको नाममा सास्ती खेप्दै आएका छन् । एकै पटक धेरै सेवाग्रही राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय पुग्दा सेवाग्रही र सेवाप्रवाहमा समेत प्रभावित भएको छ । अहिले प्रशासन कार्यालयले २ वटा स्टेसननबाट राष्ट्रिय परिचयपत्र दर्ता गर्दै आएको छ ।

अधुरो सूचनाले हैरानी

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी आर्थिक वर्ष साउनदेखि सामाजिक सुरक्षा भत्तामा अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गर्ने बताएको थियो । तर, पहिलो चरणमा केही जिल्लामात्रै छनोट गरिएको र त्यसमा पनि कुनकुन जिल्ला हुन् भन्नेबारे खुलाएको थिएन ।

त्यसको मारमा दुर्गम भेगका जनता परेका छन् । उनीहरुले आफूहरुले सञ्चारमाध्यममा भत्तामा अनिवार्य राष्ट्रिय परिचपत्र भनेकोमात्रै सुनेको प्रतिक्रिया दिएका थिए । विभागले ३० जेठमा मात्रै पहिलो चरणका लागि छनोट गरिएका २८ जिल्लाको नाम सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आफूहरुले पनि अनिवार्य परिचयपत्र लागू हुने जिल्लामा गुल्मी नपरेको पछिमात्रै थाहा पाएको बताए । ‘पहिले निर्णय गरेर सबै पालिकालाई सूचना जारी गरिएको रहेछ । प्रशासनलाई कुनै जानकारी थिएन’, उनले भने, ‘अस्ति भर्खरमात्रै कुनकुन जिल्ला हो क्लियर भएर आयो ।’

प्रकाशित मिति: Jun 14, 2024

प्रतिक्रिया दिनुहोस्