Logo
२३ भाद्र २०८१, आईतबार
(June 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न श्रम मन्त्री अर्यालको कतारका श्रम मन्त्रीलाई आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री  अली समिख अल मारी द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो । भेटमा दुवै मुलुक बीचको श्रम सम्बन्धमा छलफल भयो ।

छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौँ । ताकी उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” उनले भने ।

त्यस्तै, नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिए ।

छलफलमा कतारका श्रममन्त्री अली समिख अल मारीले नेपाली समुदायको प्रशंसा गर्दै नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरे । त्यस्तै, कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताए । त्यस्तै, कतार र नेपाल बीचको श्रम सम्झौतामा उनले चासो समेत व्यक्त गरे ।

प्रकाशित मिति: Jun 12, 2024

प्रतिक्रिया दिनुहोस्