Logo
२८ पुस २०८१, आईतबार
(June 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध ओसार-पसार नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार-पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

बिराटनगरमा आइतबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले उक्त निर्देशन दिएका हुन् ।

लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्वद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको उनले बताए ।

सबै कार्यालयका प्रमुखले कानूनले दिएको अधिकार मात्रै निर्धक्क प्रयोग गर्ने हो भने पनि अधिकांश समस्या समाधान हुने भन्दै उनले कार्यशैलीको निर्मम समीक्षा गर्न आग्रह गरेका छन् ।

कर्मचारीले आफ्नो कार्यकालमा गर्ने कामको प्राथमिकता निर्धारण गरे मात्र पनि प्रतिफल आउने उनको भनाइ थियो।

‘जिल्लामा अबैध गतिविधि भइरहने तर नियन्त्रणको कानूनी अधिकार भएका सुरक्षा अधिकारीहरु त्यसैलाई टुलुटुलु हेरिरहने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री लामिछानेले अधिकार प्रयोगमा हिचकिचाउने र जिम्मेवारी पन्छाउने कर्मचारीविरुद्ध कठोर हुने चेतावनी दिए ।

खुला सीमाका कारण अवैध बाटोबाट विदेशी उत्पादन भित्रिदा नेपाली उत्पादनले बजार नपाउने समस्याप्रति गम्भीर बन्न र बजार अनुगमन बढाएर आन्तिरिक उत्पादनलाई प्रोत्साहनको वातावरण बनाउन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिए ।

आइतार गृह मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा कोशी प्रदेशको विराटनगरमा प्रदेशस्तरीय राजश्व अभिवृद्धि तथा चुहावट नियन्त्रण गोष्ठी सम्पन्न भएको हो ।

गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा सम्पन्न सो एक दिवशीय गोष्ठीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सहित कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, राजश्व सचिव राम प्रसाद घिमिरे लगायतका उपस्थित थिए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र मुख्य अनुसन्धान निर्देशक, भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशक तथा झापा मोरङ्ग र सुनसरी जिल्लाका जिल्ला सुरक्षा समितिका सदस्यहरु उपस्थिति रहेको थिए ।

प्रकाशित मिति: Jun 9, 2024

प्रतिक्रिया दिनुहोस्