Logo
७ आश्विन २०८१, सोमबार
(June 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमाधान रोजगारीले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्नेछ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनको आधार तयार पार्ने बताए छन् । शुक्रबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले मेलाले रोजगारदाता र श्रमिक बीच मध्यस्गथकर्ताको भूमिका खेल्ने बताएका हुन् ।

उद्घाटनलाई सम्बोधन गर्दे मन्त्री अर्यालले कर्णाली प्रदेश आफैमा समृद्धि भएको बताए । अथाहा सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि संघिय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताए । “कर्णाली विकासको ढोका खोल्ने काम आफैले गर्नेछ,” उनले भने ।

कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाता बीच सेतुको रुपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेको प्रति मन्त्रालयलाई धन्यवाद दिए । मेलाले सरोकारवालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना गरे ।

मुलुक भित्रै प्रचुर सम्भावना हुँदा हुँदै पनि नेपालले वेरोजगारीको सामना गर्नु परेको उनले बताए । नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने बताए । यद्यपी कर्णाली सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजना अघि सारेको पनि बताए ।

त्यस्तै, कर्णाली प्रदेशका मन्त्री दुर्गा बहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताए । “नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप छ । यो सीप इन्जियनियरको भन्दा कम छैन । तर, यो सीपले प्रमाणपत्र पाउन सकेको छैन । जसका कारण सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन सकेको छैन,” उनले भने ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरको पार्क, बगैँचा र चोकमा थुप्रिएका युवाको भिड, उनीहरुको सामाजिक सन्जालमा सजिएका फोटा र टिकटले हाम्रा लागि नीति बनाउन भनेर सरकारलाई घचघचाई रहेको बताईन् । “यो भिडले हामी मुलुकमा नै रहन चाहन्छौ, हाम्रो लागि नीति बनाउ भन्छ,” उनले भनिन् । तर, कर्णाली आफैमा सम्पन्न छ । त्यसैले आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने उनले बताइन् ।

स्थानिय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास लिएको उनले बताए।

मेलामा सरकारी तथा नीजि क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । त्यस्तै, विभिन्न बिषयक कार्यशाला, सास्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताएको छ । मेला सुर्खेत वीरेन्द्रनगरको सिटीहलमा भोलिसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Jun 7, 2024

प्रतिक्रिया दिनुहोस्