Logo
५ आश्विन २०८१, शनिबार
(June 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिबी लामामाथि सहकारीको एक अर्ब ५१ करोडभन्दा बढी बचत ठगीको आरोप

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) विरूद्ध प्रहरीमा एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम ठगीको जाहेरी परेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार चितवनको भरतपुरबाट पक्राउ गरेको थियो।

आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले काभ्रे घई भई ललितपुरको बालकुमारीस्थित वेष्टर्न अपार्टमेन्टमा बसोबास गर्ने ४९ वर्षीय तामाङलाई सार्वजनिक गरेको छ।

उनीमाथि दुई वटा सहकारीको रकम अपचलन गरेको आरोप छ।

कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा अध्यक्ष भएर उनले अर्बौं रकम अपचलन गरेको आरोप लागेको छ। उनीविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

कान्तिपुर सहकारीको अनुसन्धान प्रहरी वृत्त बानेश्वरले अघि बढाएको थियो। यसमा तामाङलाई पक्राउ गर्न जेठ १५ गते वृत्तले कार्यालयलाई अनुरोध गरेको थियो।

खोजी गर्नेक्रममा प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको एसएसपी सानुराम भट्टराईले बताए। यसअघि सिबीविरूद्ध ८५२ जनाले जाहेरी दिएका थिए। जसमा बिगो रकम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रहेको प्रहरीले जनाएको छ।

अहिले उनीविरूद्ध थप १०० जनाले जाहेरी दिएसँगै रकम थपिने प्रहरीको आकलन छ।

त्यसैगरी उनी अध्यक्ष रहेको पशुपति सहकारीमा पनि अन्दाजी १२ करोडको बिगो माग भएको प्रहरीले जनाएको छ।

गत वर्ष साउन १ गते समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाले निवेदन दिएका थिए। यसबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनले २०४९ सालदेखि ओशिन एड्भरटिजमेन्ट मिडियामा समाचार संकलकको काम गरेका थिए। पछि २०५२ साल भदौमा तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा ८ महिना काम गरी छाडेका थिए।

२०५५ देखि २०७६ पुस २४ गतेसम्म उनी कान्‍तिपुर सहकारीका अध्यक्ष थिए। एकै व्यक्ति दुई सहकारीको अध्यक्ष बन्न नमिल्ने सरकारले नियम ल्याएपछि भने उनले उक्त सहकारी छाडेका थिए।

०५५ मै उनले पशुपति सहकारी स्थापना गरेका थिए। उनी २०५९ सालमा कान्तिपुर अस्पतालका अध्यक्षसमेत भएका थिए भने तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स समेत सञ्चालन गर्दै आएका थिए।

पक्राउ परेका तामाङविरूद्ध चार वटा बैंकिङ कसुरको मुद्दा चलिसकेको र तीन वटामा फरार रहेको कायम रहेको उल्लेख छ।

उनीमाथि थप अनुसन्धानका लागि सुरूमा प्रहरी वृत्त बानेश्वरमा पठाइने र पछि पशुपति सहकारीको अनुसन्धानका लागि सिआइबी पठाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति: Jun 2, 2024

प्रतिक्रिया दिनुहोस्