कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु
१ चैत, काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो ।
मूत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।
नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको छ ।
अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो ।
साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा उल्लेख छ ।