Logo
३ आश्विन २०८१, बिहीबार
(March 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाललाई भेट्न गए शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।

केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ । त्यसैले देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । सो भेटमा नेताहरुले नेपाललाई सत्ता गठबन्धन र सरकारमा सहभागी हुन भनेका थिए ।

नेपालले भने बुधबार सचिवालयको बैठक बसेर आवश्यक निर्णय लिने बताएका थिए । एकीकृत समाजवादीको सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।

प्रकाशित मिति: Mar 6, 2024

प्रतिक्रिया दिनुहोस्