Logo
३ माघ २०८१, बिहीबार
(February 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर : बन्द रहेको जुट मिल्समा आगलागी

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो ।

आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए ।

बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।

‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’

प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’

बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो ।

जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ ।

मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।

विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।

पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक समूह बिड्ला ग्रुपले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाका दमकलको सहयोगमा बुधबार बिहान १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: Feb 21, 2024

प्रतिक्रिया दिनुहोस्