कोहि कसैलाई गरिने निस्वार्थ त्याग, समर्पण र जिबनको साथ नै ‘प्रेम’ हो
प्रेम भनेको निस्वार्थ भाव हो, समर्पण हो, कोहि कसैलाई गरिने जिबनको त्याग, समर्पण र साथ नै ‘प्रेम’ हो
प्रेम एक भावना हो, यसलाई व्यक्त गर्ने हरेक मानिसका आ–आफ्ना तरिका हुनसक्छन्। कसैलाई कति प्रेम गर्छु भनेर सजिलै व्यक्त गर्न सकिंदैन। कोहि कसैलाई गरिने जिबनको त्याग, समर्पण र साथ नै ‘प्रेम’ हो ।
प्रेमको कुनै एक सर्वमान्य परिभाषा छैन। मानिसहरूले आ–आफ्नो विचारमा प्रेमलाई परिभाषित गरिरहेका हुन्छन्। तर न त अपरिभाषित प्रेम हुन्छ न नियम विनाको प्रेम नै दिगो हुन्छ ।
सामान्यतया हामी प्रेमभाव भन्ने बित्तिकै जवान उमेरमा युवायुवती बीच हुने आकर्षणलाई बुझ्छौं। तर प्रेमको परिभाषा त्यति मात्रमा सीमित भने हुँदैन।
आफ्नो सन्तानलाई आमाबुबाले गर्ने प्रेम, आमाबुबालाई सन्तानले गर्ने प्रेम, साथीभाइ बीचको प्रेम यी सबै प्रेमको उदाहरण भित्रै पर्छन्।
कसको प्रेम सबैभन्दा मजबुत र जीवन्त हो भन्ने कुरा फरक विषय हो। हामीले बच्चैदेखि सुन्दै र अनुभव पनि गर्दै आएको कुरा, मातापिताको आफ्नो सन्तानप्रतिको प्रेम सबैभन्दा निश्चल र अथाह हुन्छ।
मातापिताको आफ्नो सन्तानप्रतिको प्रेम जति निश्चल र निस्वार्थ प्रेम सायदै कसैले कसैलाई गर्दैन होला। तर मातापिता पश्चात् उत्तिकै निस्वार्थ र निश्चल प्रेम गर्ने एउटा व्यक्ति हुन्छ र त्यो हो जीवनसाथी।
सायद ‘साथ’ भनेकै पनि प्रेमको पर्याय हो कि रु सन्तानको साथले नै दम्पतीमा प्रेम बढ्छ। साथीको साथको गहिराइले नै साथीहरू नजिक टाढाका हुन्छन्। जीवनमा सर्वाधिक दिगो साथको अपेक्षा श्रीमान्–श्रीमतीबाटै हुन्छ।
त्यसैले त प्रेमको पर्याय प्रणय पनि हुन्छ।
जीवनसाथी बीच प्रेम हुनु ठूलो कुरा होइन भन्ने सोचाइ पनि हुन्छ समाजमा, तर जीवनसाथीसँगको प्रेम सामान्य विषय हो जस्तो लाग्दैन मलाई। जीवनसाथी बीचको प्रेम सबैभन्दा गहिरो र विशेष प्रेम हो जस्तो लाग्छ।
त्यसो त सबैको जीवनमा एउटै कुरा लागू नहुन पनि सक्छ। हरेक दम्पतीबीच उत्तिकै प्रेम नहुन पनि सक्छ तर जीवनसाथी मात्रै एउटा यस्तो पात्र हो जसलाई हामीले हरेक कुरा सेयर गर्न सक्छौं।
जीवनसाथी भनेको तपाईंको हरेक सुख–दुःखको आधा हिस्सेदार हो, जसले तपाईंलाई सबैभन्दा बढी बुझेको हुन्छ, तपाईंको हरेक सुख–दुःखमा तपाईंको साथमा हुन्छ, जीवनको अन्तिम पलसम्म पनि साथमै रहने एउटा मात्रै सम्बन्ध भनेको जीवनसाथी नै हो।
हुन त वैवाहिक जीवनलाई लिएर, विवाहलाई लिएर विभिन्न ट्रोल पनि बनाइन्छन।
सादी बनगई उमर कैद कि सजा भन्ने गीतमा हामी उफ्री–उफ्री नाच्छौं अनि पति–पत्नी बीचको सम्बन्ध, नोकझोकलाई लिएर बनाइने ट्रोलहरूमा हामी खुब रमाउँछौं तर वैवाहिक जीवन त्यस्तो ट्रेल बनाइनुपर्ने विषय हो जस्तो लाग्दैन।
संसारमा त्यस्तो कुनै सम्बन्ध छैन जसमा नोकझोक नभएको होस् तर नोकझोक हुँदैमा प्रेम कम हुने भन्ने त हुँदैन नि ।
प्रेमको पनि आयाम हुन्छ, उतारचढाव हुन्छ तर उतारचढावको बीच सम्बन्धलाई स्वस्थ र सन्तुलित राख्न निस्वार्थ र आसक्तिरहित भावना हुन जरुरी हुन्छ। एकअर्काको सबल र दुर्बल दुवै पक्षलाई सहर्ष स्वीकार्न सक्नुपर्छ।
स्वीकार र साथ प्रेमका लागि दुई खुट्टा जत्तिकै हुन्। त्यसैले सम्बन्धमा हिसाब नराख्नुस्, बेहिसाब प्रेम गर्नुस्, बेहिसाब खुसी पाउनुहुनेछ ।
धेरै मानिसको बुझाइमा विवाह भनेको प्रेमको अन्तिम गन्तव्य हो, ।
विवाह भएपछि प्रेमको समाप्ति हुन्छ भन्ने मान्यता रहँदै आएको छ। निश्चय नै हाम्रो पूर्वीय समाजमा युवा वयको उमेरमा प्रेमको गन्तव्य विवाह हो तर प्रेमका लागि विवाह अन्तिम गन्तव्य भने हैन।
विवाहले प्रेमलाई एउटा गन्तव्यसम्मको सफलता दिन्छ र अर्को गन्तव्यका लागि आशा दिन्छ। विवाह भनेको प्रेमको समाप्ति भने होइन। विवाह प्रेमको आश्रयस्थल हो जहाँ प्रेमले नयाँ आकार लिन पाउँछ, झांगिन पाउँछ र अझ मजबुत हुन पाउँछ।
विवाहले प्रेमलाई मजबुत बनाउँछ र सबैभन्दा मजबुत र जीवन्त प्रेम भनेको जीवनसाथी बीचको प्रेम नै हो। तर आजकल मानिसहरू प्रेम र विवाहप्रति बढी नकारात्मक देखिन्छन् ।
किनकि मानिसहरू आजकल आफ्नो अनुकूलताको ख्याल राखेर मात्र सम्बन्ध जोड्छन्, सम्बन्धमा हिसाब राख्छन् र आफ्नो अनुकूल नहुने बित्तिकै सम्बन्धको अन्त्य गर्न राजी भैहाल्छन्।
हो, हामीले आफूलाई पनि प्रेम गर्नुपर्छ, आफ्नो आत्मसम्मानको ख्याल राख्नुपर्छ तर आत्मसम्मानको ख्याल राख्नु र स्वार्थ अनुकूल छ कि छैन भनेर सम्बन्ध जोड्नु निकै फरक कुरा हो।
हरेक सफलताको लागि मिहिनेत लागे जस्तै प्रेम सफल हुन सम्बन्ध स्वस्थ हुन पनि मिहिनेत गर्नुपर्छ। एकअर्काको आत्मसम्मान, रुचि र खुसीको ख्याल राख्नुपर्छ तर त्यसो भन्दैमा स्वार्थी भने हुन हुँदैन।
महात्मा गान्धीले भन्नुभएको थियो– प्रेमले बलिदान सिकाउँछ हिसाब सिकाउँदैन, प्रेमले मस्तिष्कलाई होइन, हृदयलाई छुन्छ।
गान्धीले भन्नुभएको जस्तै वास्तवमा प्रेमले हिसाब सिकाउँदैन, प्रेम आफैंमा बेहिसाब हुन्छ। प्रेम भनेको निस्वार्थ भाव हो, समर्पण हो।
प्रेमले बन्धन होइन स्वतन्त्रता चाहन्छ र स्वतन्त्रता दिन्छ। आजभोलि युवायुवतीमा प्रेमको लहड चलेको देखिन्छ, सही र गलतको फरक छुट्याउन नसक्ने उमेरमा लहडको भरमा खराब व्यक्तिको सङ्गतमा पर्ने धोका पाउने अनि प्रेमलाई दुत्कार्ने गरेको देखिन्छ।
यदि तपाईं कसैलाई निस्वार्थ भावले प्रेम गर्नुहुन्छ भने त्यो प्रेम तपाईंको लागि कहिल्यै बन्धन हुँदैन, र तपाईंले आफूले प्राप्त गर्न खोजेको कुरा नपाएको खण्डमा त्यसलाई धोका भयो भन्नुहुन्छ भने त्यहाँ प्रेम थिएन भनेर बुझ्दा हुन्छ।
बगैंचामा फुलेको सुन्दर फूल देखेर टिप्न खोज्नु फूलको सुन्दरता प्रतिको आकर्षण हो भने, त्यो फूल फक्रियोस्, फूलोस् नओइलाओस् भनेर त्यसमा मलजल गर्नु त्यसको सुरक्षा गर्नु चाहिं प्रेम हो ।
धेरै जसोले आकर्षणलाई नै प्रेम भन्ने बुझ्छन् तर प्रेम र आकर्षणमा धेरै अन्तर छ।
आकर्षणले प्राप्तिको चाहना राख्छ, आकर्षण निर्मम हुन्छ तर प्रेमले सुरक्षा गर्न खोज्छ प्रेमले जोगाउन खोज्छ। विवाहपछिको प्रेम सुरक्षा र आकर्षणको प्रतिबिम्ब हो।
हृदयलाई छुने प्रेम विवाह पछि समाप्त हुने हुँदैन। विवाह बरु प्रेममा परीक्षा भएर आउँछ। विवाहले जीवनसाथीको प्रेमलाई यथार्थमा दिने गरेको साथको तुलना गरेर मूल्यांकन गर्ने अवसर दिन्छ।
कसैले तपाईंसँग निस्वार्थ भावले प्रेम गर्छ भने त्यसले तपाईंलाई सधैं ऊर्जा नै दिन्छ, निराशा दिंदैन। साँचो प्रेमले कसैको हानि गर्दैन। हुनत प्रेम सधैं हराभरा मात्र हुन्छ भन्ने छैन। प्रेमले सधैं खुसी मात्रै दिन्छ भन्ने पनि होइन।
प्रेमको पनि आयाम हुन्छ, उतारचढाव हुन्छ तर उतारचढावको बीच सम्बन्धलाई स्वस्थ र सन्तुलित राख्न निस्वार्थ र आसक्तिरहित भावना हुन जरुरी हुन्छ।
एकअर्काको सबल र दुर्बल दुवै पक्षलाई सहर्ष स्वीकार्न सक्नुपर्छ। स्वीकार र साथ प्रेमका लागि दुई खुट्टा जत्तिकै हुन्। त्यसैले सम्बन्धमा हिसाब नराख्नुस्, बेहिसाब प्रेम गर्नुस्, बेहिसाब खुसी पाउनुहुनेछ।
तपाईंलाई त्याग्ने हैन, तपाईंका लागि त्याग गर्ने मानिस तपाईंको प्रेमी हो। तपाईंसँग आफ्ना हरेक पक्ष स्वीकार गर्ने र तपाइँलाई खासगरी अप्ठ्यारोमा साथ दिने व्यक्ति नै तपाईंको प्रेमी हो।
मलाई लाग्छ स्वीकार र साथको सन्तुलन जीवनसाथी हो। जीवनसाथी नै सबैभन्दा साँचो प्रेमी हो।