Logo
२३ भाद्र २०८१, आईतबार
(February 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओबादी घटकलाई एकताबद्ध हुनका लागि अध्यक्ष दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धुमा सहभागी सबैलाई एकताबद्ध हुनका लागि आह्वान गरेका छन् । सबै पार्टीहरू एकताबद्ध भई आएमा आफूलाई पार्टी नेतृत्वमा बसिराख्ने लोभ नभएको पनि बताएका छन् ।

काठमाडौंमा आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै दाहालले तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा आफूले छोड्न तयार रहेको बताए ।’नयाँ क्रान्तितिर देशलाई लैजाने संकल्प गरेको छु । कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु,’ उनले भने, ‘आउनुस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौं । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौं, सबै एक हौं ।’

पछिल्लो समय विचार मिल्ने पार्टीहरूबीच समाजवादी मोर्चा गठन भएको र त्यसै अवसरमा विगतमा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी सबैलाई एकताबद्ध हुन दाहालले आग्रह गरेका हुन् ।विगतमा गरेका गल्तीको समीक्षा गर्दै राजनीतिक परिवर्तनको रक्षा गर्न र समाजवादी आन्दोलनमा अगाडि बढ्न पनि एकताबद्ध हुनुपर्ने दाहालको भनाइ थियो ।

यसैगरि,  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै अहिले अघि बढ्नुपर्ने बताएका छन् ।पार्टीको विधान सम्मेलनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आलोचना गर्न पाइने तर अहिले उहाँकै नेतृत्वमा अघि बढ्नुपर्ने बताएका हुन् । मैले अध्यक्ष प्रचण्डको आलोचना नगर्ने भनेको होइन । तर, अहिले उहाँकै नेतृत्वमा अघि बढ्नुपर्छ, उनले भने ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सबै वामपन्थी एक ठाउँमा आउनुपर्ने बताए । हाम्रो पार्टीले मात्रै पुग्दैन । अब सबै वामपन्थी एक ठाउँमा आउनुपर्छ, उनले भने । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सांस्कृतिक र वैचारिक क्रान्ति नै अहिलेको मुख्य कार्यभार भएको बताए । उनले पार्टी रुपान्तरण र पुनर्गठनका लागि अघि बढ्नै पर्ने बताए ।

प्रकाशित मिति: Feb 13, 2024

प्रतिक्रिया दिनुहोस्