Logo
१४ मंसिर २०८१, शुक्रबार
(January 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज्यको दोहोरो नीतीका कारण देशभरका हजारौं मिटरब्याजपीडित परिवार थप त्रासमा

देशभरका २३ हजार भन्दा बढी मिटरब्याजपीडित परिवार हिजोआज साहुकारको थप त्रासमा छन् । साहूले १ लाख ऋण दिएर ३ ४ लाखसम्मको तमसुक बनाएका यर्थातहरु समाजमा जताततै पाइन्छ ।

पैसाको अत्ति आवश्यक खाँचो भएकाले गरिबहरु ऋण लिने बेला जुनसुकै कागजमा हस्ताक्षर गर्न तयार हुनेगरेको र उक्त कागज समेत साहुसँग नै रहने गरिएको वास्तविक्ता पनि उतिकै भेटिन्छ ।

सेकडाकै ३ रुपैयाँ, ४ रुपैयाँ जहासम्मकी ५ रुपैयाँसम्म अर्थात ३६ देखि ६० प्रतिशत चर्को ब्याजमा ऋण दिने गरेका साहूहरु कानून अनुसार अवैध कार्य गर्न सकृय रहेका छन् । तराई-मधेश क्षेत्रका प्रायः स्थानीय नेताहरु नै मिटरब्याजीका रुपमा सकृय रहेका छन् ।

यस विरुद्ध मिटरब्याजपीडितले जिल्ला-जिल्लामा प्रदर्शन गरे, पैदल हिँडेर विभिन्न समूह राजधानी पुगे । पीडितहरू माइतीघरमा पटक–पटक धर्ना बसे, आन्दोलन गरे ।

तर सरकारले गठन गरेको जाँचबुझ आयोगले आठ महिना लगाएर तयार पारेको प्रतिवेदन कार्यान्वयनमा सरकार आफैं अलमलमा परेको छ । प्रतिवेदनमा स्पष्ट उल्लेख भएका उजुरी फर्छ्योट गर्नुको सट्टा फेरि अभिलेख संकलनमा लागेको छ ।

पीडितहरूसँगको सहमतिका आधारमा सरकारले २०७९ चैत २० मा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित तीन सदस्यीय आयोगले ८ महिनामा २८ हजार निवेदन संकलन गरेको थियो ।

सबैभन्दा बढी मधेशका ८ जिल्लामा २१ हजार ५ सय उजुरी परेका छन् । बारामा २३ हजार ३ सय ९७ र पश्चिम नवलपरासीमा १ हजार ८ सय ६२ उजुरी परेका छन् ।

देशभर ५ हजार निवेदनमा मिलापत्र भएको सरकारको दाबी छ । मिलापत्र भए पनि पुरानै कागजका आधारमा अदालत जाने भन्दै साहुले पीडितहरूलाई धम्क्याउँदै आएका छन् भने मिलापत्रको पर्खाइमा रहेका करिब २ हजार परिवारको भविष्य अन्योलमै छ ।

आयोगको प्रतिवेदनअनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्व र निर्देशनमा मिटरब्याजपीडितका गुनासा र उजुरीको फर्छ्योट हुनुपर्ने हो ।

आयोगको म्याद सकिएपछि मिटरब्याजका उजुरीको छिनोफानो कसरी लगाउने भन्नेमा सरकारले कुनै नीति बनाएको छैन । संघीय सरकारको गृहमन्त्रालयले ताकेता नगरेपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी पनि मौन बसेका छन् ।

सरकारले गठन गरेको आयोगको प्रतिवेदन कहाँ छ ? अब न्याय कसरी मिल्छ भन्नेमा पीडित मात्र होइन, स्वयं आयोगकै संयोजक तथा पूर्वन्यायाधीश कार्कीलाई समेत जानकारी छैन ।

एकातिर आयोगले उजुरीसहितको प्रतिवेदन दिएको छ भने सरकारले लेनदेनको मामिला वडा कार्यालयमार्फत दर्ता गराउन फेरि म्याद दिएको छ ।

माघ ११ सम्म म्याद तोकिएकामा पीडितभन्दा सुदखोर नै सक्रिय भएका छन् । उनीहरू लेनदेनको रकमभन्दा तीन गुणा बढीको तमसुक बोकेर वडा कार्यालय धाइरहेका छन् ।

साहु र ऋणी एकै पटक उपस्थित भए मिलापत्र गराउन सकिने भए पनि कहिले साहु मात्र र कहिले ऋणी मात्र आएकाले समस्या समाधानतर्फ जान नसकेको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।

मिटरब्याजीविरुद्धको संघर्ष समिति महोत्तरीका अध्यक्ष मोहन महतोका अनुसार ऋणीलाई विभिन्न बहानामा अनुपस्थित गराएर वडा कार्यालयहरूले तीन गुणा बढीको तमसुक सदर गरिरहेका छन् ।

प्रकाशित मिति: Jan 24, 2024

प्रतिक्रिया दिनुहोस्