Logo
३१ भाद्र २०८१, सोमबार
(January 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको बताएका छन्।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताए।

‘मेडिकल ट्रममा एउटा अवस्थालाई मल्टिपल अर्गान फेलियर भनिँदो रहेछ। राउटा रोग लागेर मान्छे अस्पताल भर्ना हुन्छ, त्यसको उपचार गर्दागर्दै अर्कोतिर, फेरि अर्कोतिर हुँदै सबै अंगले काम गर्न छोडेर मान्छे मृत्युको मुखतिर धकेलिन्छ।

यतिबेला मुलुकको अवस्था झण्डै झण्डै मल्टिपल अर्गान फेलियरको दिशातिर गएको छ,’ उनले भने।

ज्ञवालीले देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको बताए।

‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन्।

सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले भने।

उनले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताए।

‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन। तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन। बरु गठबन्धन राज्यको सम्पत्ती दोहन गर्न लागेको छ। विकास निर्माण ठप्प छ।

प्रधानमन्त्री, मन्त्री स्वयम् सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका छन्,’ ज्ञवालीले भने, ‘गठबन्धन सरकारको विरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्दैछ।’

उनले सरकार देशको लागि बोझ भइसकेको बताए। तर पनि तत्कालै सरकार ढाल्नसक्ने अवस्था भने नभएको उनी बताउँछन्।

‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन। सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्।

कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन्,’ ज्ञवालीले भने, ‘यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो।

कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा कृयाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ।’

उनले सरकारले नगरे पनि एमाले पनि छ है देशमा निरास नहुनुस् भन्ने सकरात्मक सन्देश प्रवाह गर्न आन्दोलन सुरु गर्न लागेको बताए।

अर्को प्रसंगमा ज्ञवालीले डुबेका सहकारी संस्थाको वचत रकम सरकारले फिर्ता गर्नुपर्छ भन्नु हास्यास्पद भएको छिप्पणी गरे। सरकारले सहकारी डुबाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याई वचतकर्ताको रकम फिर्ता गराउनुपर्ने उनले बताए।

‘कोही तत्कालै राहत दिनपर्ने पीडित छन् भने उनीहरुलाई सहयोग गर्न सरकारले अस्थायी कोष खडा गर्न सक्छ। तर वचतकर्ताको रकम सरकारले फिर्ता गर्न सक्दैन,’ उनले भने।

ज्ञवालीले सहकारी संस्थाको नियमनलाई प्रभावकारी बनाउँदै सहकारीलाई उत्पादनमा केन्द्रित बनाउनुपर्ने बताए। उत्पादनतिरभन्दा बढी वचत र ऋणमामात्रै केन्द्रित हुँदा सहकारीहरुमा समस्या देखिएको उनले बताए।

 

प्रकाशित मिति: Jan 21, 2024

प्रतिक्रिया दिनुहोस्