Logo
२३ भाद्र २०८१, आईतबार
(January 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटना न्यूनीकरणको प्रयास भैरहेको छ : मन्त्री ज्वाला

संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले सडक दुर्घटना न्यूनीकरणको प्रयास भैरहेको बताएका छन् ।

बिहीबार संसद्को राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले दुर्घटना न्यूनीकरणको प्रयास भइरहेको बताएका हुन् ।

उनले चाडपर्वमा हुने दुर्घटनामा कमी आएको बताउँदै भने– ‘सडक दुर्घटना र सडक सुरक्षाको विषय उठेको छ। दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् ।

हामीले दुर्घटना न्यूनीकरणको प्रयास गरेका छौँ। चाडपर्व हुने दुर्घटनामा कमी आएको छ। त्यो भनेको हाम्रो निरन्तर अनुगमनले नै हो।’

दुर्घटना न्यूनीकरणमा सरकार गम्भीर रहेको समेत मन्त्री ज्वालाले बताए । उनले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन एउटै हुनुहुँदैन भन्ने विषय उठेकाले एउटै ड्राफ्ट बनाएर अर्थ मन्त्रालय पठाइएको उनले बताए ।

‘हामीले सुरुमा ड्राफ्ट बनाएर अर्थमा पठाउँदा एउटै बनाएर पठाऊ भन्यो। हामीले एउटै बनाएर पठाएका छौँ। अहिले धेरै अधिकार प्रदेशमा पनि छ ।

यातायात क्षेत्र व्यवस्थित बनाउन ७ गते प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएका छौँ।’

उनले यसका लागि पूर्व सचिवको संयोजकत्वमा कार्यदल समेत बनाइएको बताउँदै यो प्रतिवेदन त्यसै नथन्किने बताए ।

मन्त्री ज्वालाले व्यापारिक कोरिडोरको रूपमा उत्तर दक्षिण कोरिडोरलाई प्राथमिकतामा राखिएको बताए ।

संरक्षित क्षेत्र भित्र के गर्ने भन्ने एउटा कार्यविधि बनाइसकिएको बताउँदै उनले सडक र आवश्यक पूर्वाधार बनाउन त्यसले बाटो खोल्ने बताए। त्यसका लागि केही निकायबिच समन्वय अभाव रहेको उनले बताए ।

विकास पनि हुने र जनतालाई सास्ती नहुने विषयमा प्रधानमन्त्री पनि गम्भीर रहनुभएको मन्त्री ज्वालाको भनाइ छ ।

प्रकाशित मिति: Jan 18, 2024

प्रतिक्रिया दिनुहोस्