Logo
३१ भाद्र २०८१, सोमबार
(January 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीको विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएको छ । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रतिनिधिको मापदण्ड तय गर्दै प्रतिनिधिको टुङ्गो लगाएको हो ।

बैठकले आगामी फागुन (१-३) सम्म काठमाडौँको प्रज्ञाभवन कमलादीमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिमा केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च, केन्द्रीय आयोगहरू, प्रदेशका पदाधिकारी, ७७ वटै जिल्लाका संयोजक, जनवर्गीय सङ्गठन केन्द्रका प्रमुखहरू सहभागी हुने सचिव गणेश साहले जानकारी दिए ।

साहका अनुसार अर्को बैठकमा केही फेरबदल पनि हुन सक्ने बताए । ‘१३ सय प्रतिनिधि सहभागी हुने बैठकले निर्णय गरेको छ ।

प्रतिनिधिको मापदण्ड पनि तोकिएको छ । यसबारे अर्को बैठकमा केही फेरबदल हुन सक्छ’, सचिव साहले भने ।

आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट एक हजार उठाउने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । अहिलेसम्म पानी र खाजा पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको उनले बताए ।

‘आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट हजार रुपैयाँ उठाउने निर्णय भएको छ । खानाको कुरा भएको छैन ।

खाजा पानी पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको छ । बाँकी विषयमा फेरी पदाधिकारी बैठक बसेर निर्णय गर्ला’, सचिव उपाध्यायले जानकारी दिए ।

विधान संशोधनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमाथि बैठकमा छलफल भएको थियो ।

२१ दिन छलफलका लागि तल्लो तहसम्म छलफलमा लैजाने भएको छ । पूरक प्रस्तावसहित कार्यदलले एकरुपता दिने तयारी भएको कार्यदल सदस्यसमेत रहेका सचिव साहले बताए ।

तल्लो तहबाट आएको सुझावसहित मस्यौदामाथि माघ २६ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: Jan 14, 2024

प्रतिक्रिया दिनुहोस्