Logo
३१ भाद्र २०८१, सोमबार
(January 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या

 चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेत्तर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो ।

लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लगाएको हो ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतकहरू भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् ।

उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ ।

मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए ।

दुई जनाबिच सम्बन्ध रहेको शङ्का गर्दै  अस्मिताका श्रीमान् भगतले उनीहरूको झगडासमेत गरेको प्रहरीको भनाई छ ।

यसको रिसमा मङ्सिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए ।

त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए । यो कुरा सीसीटिभी फुटेजमा पनि कैद भएको प्रहरीको भनाई छ ।

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए ।

प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो ।

भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

 

प्रकाशित मिति: Jan 8, 2024

प्रतिक्रिया दिनुहोस्