Logo
३१ भाद्र २०८१, सोमबार
(January 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभापति देउवा र कोइराला बीच कुरा नमिल्दा कांग्रेसमा उम्मेदवार छान्न ढिलाइ

नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गर्न ढिलाइ गरेको छ। पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न बाँकी हुँदा उम्मेदवारी चयन ढिलाइ भएको हो।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार दिउँसो नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायतको छलफल भएको थियो।

त्यहाँ नेता कोइरालाले कम्तीमा चार सिट आफूहरूले उम्मेदवारी दिन पाउनुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार सभापति देउवाले गठबन्धनबाट कांग्रेसलाई १० सिट आएकोमा संस्थापनइतरलाई बढीमा तीन सिट मात्र दिन सकिने बताएका थिए।

सभापति देउवासँग कुरा नमिलेपछि कोइराला र महामन्त्री थापा धुम्बाराहीबाट निस्केका छन्। उनीहरू कोइरालाको सचिवालय विशालनगर बालुवाटारमा पुगेका छन्।

त्यहाँ कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायत छलफल गरिरहेका छन्।

कोइरालाले संस्थापनइतर समूहका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरूलाई सचिवालयमा बोलाएका छन्।

‘पार्टीले निर्धारण गरेको मापदण्डअनुसार उम्मेदवार तय गर्न सभापति राजी हुनुभएन,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘अब हामी के गर्ने सामूहिक छलफल गर्दैछौं।’

साथै सभापति देउवाले आफूनिकट नेता व्यवस्थापन गर्न प्रदेशहरूमा सोहीअनुसार मिल्ने गरी क्लस्टर रोजेको संस्थापनइतरको आरोप छ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

नेताहरूबीच कुरा नमिल्दा कांग्रेसले दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि सारेको छ। केन्द्रीय कार्यसम्पादन समिति बैठक अपराह्न ४ बजेपछि सानेपामा बस्नेछ।

कांग्रेसभित्र पटक-पटक अवसर पाएकाहरूलाई राष्ट्रिय सभा उम्मेदवार नबनाउन दबाब छ तर सभापति देउवाले पुरानै नेताहरूलाई अवसर दिन लागेको भन्दै विरोध भइरहेको छ।

प्रकाशित मिति: Jan 7, 2024

प्रतिक्रिया दिनुहोस्