टेकनाथ रिजालले बुझाए धरौटी, बुधबार छुट्ने
पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले धरौटी बुझाएका छन्। आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका रिजाललाई उच्च अदालत पाटनले मंसिर १५ गते १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
उक्त आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनी कारागारमै बस्दै आएका थिए। ‘हिजो धरौटी बुझाएको भनेर पत्र आएको थियो। त्यसपछि हामीले सम्पत्ति शुद्धीकरणमा पठाएका थियौं,’ जेलर बस्नेतले भने, ‘तर अबेर भएकाले हिजो काम सकिएन। अब पर्सिमात्रै छुट्नुहुन्छ।’
सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले उनी बुधबार छुट्न लागेका हुन्। रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।
रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।