Logo
१४ मंसिर २०८१, शुक्रबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरती साह मृत्यु प्रकरणमा नयाँ मोड : पति मोतीबाबु साह पुनः पक्राउ

मधेश प्रदेश स्थित धनुषाकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकबाट पक्राउ गरेको हो ।

आरती गत जेठ ७ गते धनुषास्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

उच्च अदालतका तत्कालीन न्यायाधीश शारंगा सुवेदी र किरण पोखरेलको संयुक्त इजलासमा उनीहरुलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

उक्त आदेश दिने सारंगा हाल सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी छन् । उनलाई न्याय परिषद्ले न्यायाधीशमा सिफारिस गरेपछि आरतीका परिवारले पनि उनीविरुद्ध उजुरी दिएका थिए ।

आरतीका परिवार उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च पुगेका थिए । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० गते सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको हो । आरतीको हत्या भएको भन्दै न्यायका लागि उनका माईती पक्ष माहिनौदेखि काठमाडौं केन्द्रीत आान्दोलनमा रहेका छन् ।

आरतीका बुवा, आमा, बहिनी र भाइ १९३ दिनदेखि काठमाडौंमा अनसनमा छन् । उनीहरू सर्वोच्च अदालत पुगेपछि आरतीका पतिलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश जारी गरेपनि आरतीका परिवारले अनशन भने तोडेका छैनन् ।

प्रकाशित मिति: Dec 25, 2023

प्रतिक्रिया दिनुहोस्