Logo
३ आश्विन २०८१, बिहीबार
(December 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षको कार्यक्रम घोषणा गर्न नेता महतोको आग्रह

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन् ।

नेता महतोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबध भएर प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् ।

नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन् ।

लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मधेस आन्दोलनको क्रममा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको हो ।

नेता महतोले थरुहट र मधेसी मोर्चाका सबै नेताहरुलाई अधिकार र पहिचानको लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको षड्यन्त्रको विरुद्धमा सरकारबाट समर्थन फिर्ता गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘स्मरण रहोस्, नेतृत्वको आह्वानमा हुने आन्दोलनका कारण आन्दोलनकारी कार्यकर्ता नेतामाथि अन्याय, अत्याचार, पिडा हुँदा आन्दोलन आह्वानकर्ता पार्टी र नेता सत्ता स्वार्थ छोडी हिम्मतका साथ ती आन्दोलनकारी जनतालाई साथ सहयोग नदिने हो भने त्यस्ता पार्टी र नेताप्रतिको विश्वास र भरोसा निश्चित रुपमा टुट्न जानेछ र त्यस्ता नेतृत्वको पछि किन लाग्ने भने प्रश्न स्वाभाविक रुपमा उठ्ने छ ।’

प्रकाशित मिति: Dec 15, 2023

प्रतिक्रिया दिनुहोस्