Logo
४ आश्विन २०८१, शुक्रबार
(December 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरूको असन्तुष्टि

संसदीय समितिहरूले कानुन निर्माणको काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । ‘मिनी संसद्’को रूपमा रहेका संसदीय समितिहरूले कानुन निर्माणको लागि सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसदहरूले समितिहरूले विधेयकहरूमाथि पर्याप्त छलफल गर्न नसकेको बताएका छन् । संसद्को अधिवेशन अन्त्य भएको यो बेलामा पनि अधिकांश समितिहरूको बैठक बस्न नसकेको भन्दै सांसदहरूले समितिको प्रभावकारितामाथि प्रश्न उठाएका हुन् ।

हाल प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरू रहेका छन् । त्यस्तै राष्ट्रिय सभाअन्तर्गत ४ वटा विषयगत समितिहरू छन् भने २ वटा संयुक्त समिति रहेका छन् । तर केही समितिहरू बाहेक अधिकांश समितिले संसद्को अधिवेशन अन्त्य भएपछि बैठक समेत राखेका छैनन् ।

सांसदहरूको गणपूरक सङ्ख्या नपुगेका कारण कतिपय समितिको बैठक पटक–पटक स्थगित हुने गरेको छ । बैठक बसेका समितिले पनि कुनै महत्वको र ठोस विषयमा छलफल गरी निष्कर्ष निकाल्न सकेको अवस्था छैन ।

महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति बैठकमा गणपूरक सङ्ख्या पु¥याउन नै गाह्रो भइरहेको बताए ।

विधेयक निर्माणमा सांसदहरूको ध्यान जान नसकेको उनले बताए । बैठक बोलाउँदा पनि गणपूरक सङ्ख्या नपुगेको भन्दै उनले चाडपर्वमा गाउँघर गएका सांसदहरू अझै काठमाडौँ नफर्किएका कारण यस्तो समस्या आएको बताए ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले भने आफ्नो समितिले काम गरिरहेको बताए । तर गणपूरक सङ्ख्या नपुगेका कारण ३ वटा बैठक स्थगित गर्नुपरेको भने उनले सुनाए ।

सांसदहरू निर्वाचन क्षेत्रमै क्रियाशील भएका कारण बैठक बस्न नसकेको उनको भनाई छ । समितिले विद्युत् विधेयकमाथि विज्ञहरू सँग अनौपचारिक रूपमा निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए । उनले समितिले विभिन्न स्थानहरूमा अनुगमन गरेको पनि बताए ।

नेकपा(एमाले)का सचेतक महेशकुमार बर्तौलाले आफ्नो पार्टीले सांसदहरूलाई कानुन निर्माणमा विशेष भूमिका खेल्न निर्देशन दिएको बताए । समितिको नियमित बैठक बस्नुपर्ने भन्दै उनले सांसदहरूको गणपूरक सङ्ख्या नपुगेको कारण बैठक स्थगित गर्नु नहुने बताए ।

उनले एमाले सांसदहरूका कारण बैठक बस्न नसकेको प्रति संसदीय दल सचेत रहेको जानकारी गराउँदै यसमा संसदीय दलले आवश्यक सहजीकरण गर्ने बताए । उनले कानुन निर्माणमा सांसदहरूको प्रभावकारी पहलकदमी, क्रियाशीलता र मेहनत हुनुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)कि सचेतक रुपा सोशी चौधरीले आगामी पुस महिना सम्ममा सबै समितिको क्रियाशीलता बढ्ने बताइन् । उनले बिजनेस भएका समितिहरूको बैठक बसिरहेका र बिजनेस नहुने समितिहरूको भने बैठक नबसेको हुनसक्ने धारणा राखिन् । उनले समितिहरू सशक्त ढङ्गले अगाडी बढ्न भने नसकेको बताइन् ।

नेपाली काँग्रेसका सांसद तथा पूर्वाधार विकास समितिका सभापति प्रदीप पौडेलले समिति बैठकमा उठाइएको विषयहरूको सम्बोधन नहुने गरेको बताए ।

उनले समितिलाई राज्यका विभिन्न निकायहरूले महत्त्व नदिने गरेको पनि बताए । परिणाम नदेखिएका कारण समिति बैठक प्रभावकारी हुन नसकेको भन्दै सांसद पौडेलले समितिले आफ्नो कामको प्राथमिकिकरण नगरेका कारण पनि प्रभावकारी रूपमा चल्न नसकेको बताए । समितिले समस्या मात्रै उठाएर समाधान नदिने गरेको भन्दै उनले समितिले अब सरकारलाई समाधानसहित भन्न सक्नुपर्ने बताए ।

त्यसै गरी, राष्ट्रिय सभा सदस्य तथा विधायन व्यवस्थापन समितिका सदस्य सुरेशकुमार आले मगरले बैठकको एजेन्डामा सहमति जुट्न नसकेका कारण समिति बैठकहरू नबसेको हुनसक्ने धारणा राखे । उनले संसदीय समितिहरू गतिशील र क्रियाशील हुन नसकेका बताए ।

नेकपा(एमाले)का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य राजेन्द्रकुमार राईले समिति सभापतिलाई नै ऐन, कानुन बनाउन वास्ता नभएको टिप्पणी गरे ।

उनले केही समितिहरू बाहेक अन्य समितिले काम गर्छ भन्ने विश्वास समेत नभएको बताए । सभापति लगायत सांसदहरूमा समितिको बैठक बसी महत्त्वपूर्ण निर्णय गर्ने बारेमा सोच नै नदेखिएको उनको भनाई छ ।सांसद राईले समितिको काम, कारबाहीको सन्दर्भमा आफू सन्तुष्ट नभएको बताए ।

प्रकाशित मिति: Dec 6, 2023

प्रतिक्रिया दिनुहोस्